

काठमाडौं । अमेरिकाको न्युयोर्क–न्युजर्सी स्टेडियममा आइतबार हुने फिफा विश्वकप–२०२६ को फाइनल हेर्न चाहने समर्थकले अन्तिम समयमा टिकट किन्न चाहे करोडौं रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आएको छ।
खेल सुरु हुनुभन्दा २४ घण्टाभन्दा कम समय बाँकी रहँदा पुनर्बिक्री (रिसेल) बजारमा फाइनलको एक टिकटको मूल्य २३ लाख अमेरिकी डलरसम्म पुगेको छ, जुन नेपाली रुपैयाँमा करिब ३५ करोड ५३ लाख बराबर हुन्छ।
लियोनल मेसीको अर्जेन्टिना र लामिन यामलको स्पेनबीच हुने उपाधि भिडन्तलाई अमेरिकाको इतिहासकै सबैभन्दा महँगो खेलकुद प्रतियोगितामध्ये एक मानिएको छ।
शुक्रबारसम्म फिफाको आधिकारिक टिकट बिक्री प्लेटफर्ममा झण्डै सबै टिकट बिक्री भइसकेका थिए। त्यहाँ उपलब्ध सीमित टिकटको मूल्य करिब ३२ हजार अमेरिकी डलर (करिब ४९ लाख रुपैयाँ) थियो। शनिबारसम्म आधिकारिक बिक्रीका लागि कुनै टिकट बाँकी रहेन भने पुनर्बिक्री बजारमा टिकटको मूल्य १० हजार डलरदेखि २३ लाख डलरसम्म पुगेको देखिएको छ।
टिकटको मूल्य अत्यधिक भए पनि समर्थकको उत्साह भने घटेको छैन। फिफाका अनुसार समूह चरणका ७२ खेलमध्ये आधाभन्दा बढी खेल पूर्ण रूपमा भरिएका थिए भने बाँकी अधिकांश खेलमा पनि केही सय सिट मात्र खाली थिए।
प्रारम्भिक चरणमा उपलब्ध कुल सिटमध्ये ९९.७ प्रतिशत भरिएको फिफाको तथ्यांकले देखाएको छ। टिकट विशेषज्ञ स्कट फ्रिडम्यानका अनुसार फिफाले समर्थकको मागको सही अनुमान गर्दै उच्च मूल्य निर्धारण गरेकाले सबै टिकट बिक्री गर्न सफल भएको हो।
यस विश्वकपमा फिफाले पहिलो पटक ‘डाइनामिक प्राइसिङ’ प्रणाली लागू गरेको थियो। यस प्रणालीअन्तर्गत वास्तविक समयको मागअनुसार टिकटको मूल्य स्वतः बढ्ने वा घट्ने व्यवस्था गरिएको थियो।0
समूह चरणका खेलका लागि प्रारम्भिक टिकट मूल्य ५७५ अमेरिकी डलर राखिएको थियो, जुन सन् २०२२ को विश्वकपको सबैभन्दा महँगो समूह चरणको टिकटभन्दा दोब्बरभन्दा बढी थियो।
कोलम्बिया विश्वविद्यालयका प्राध्यापक एडम एल्माक्टुबले डाइनामिक प्राइसिङमा पारदर्शिताको अभाव रहेको टिप्पणी गरेका छन्। उनका अनुसार हवाई टिकटजस्ता क्षेत्रमा यो प्रणाली सामान्य भए पनि विश्वकपजस्तो विश्वव्यापी प्रतियोगितामा मूल्य निर्धारणको प्रक्रिया स्पष्ट हुनुपर्छ।
विशेषज्ञहरूका अनुसार फिफाले सबै टिकट एकैपटक बिक्रीमा नराखी चरणबद्ध रूपमा सार्वजनिक गर्ने रणनीति अपनाएकाले टिकट अभावको मनोवैज्ञानिक प्रभाव सिर्जना भएको र त्यसले माग तथा मूल्य दुवै बढाएको हो।
अमेरिकामा पुनर्बिक्रीसम्बन्धी नियम अपेक्षाकृत खुकुलो भएकाले दोस्रो बजारमा विक्रेताले आफूअनुकूल मूल्य निर्धारण गर्न पाएका छन्। पुनर्बिक्री प्लेटफर्म सिटगिकका अनुसार शुक्रबारसम्म फाइनल टिकटको औसत मूल्य ११ हजार अमेरिकी डलरभन्दा बढी थियो, जुन सन् २०२४ को सुपर बाउलको औसत टिकट मूल्यभन्दा करिब ८ प्रतिशत महँगो हो।
मानवअधिकार तथा समर्थक अधिकारसम्बद्ध संस्थाहरूले भने अत्यधिक महँगो टिकटका कारण सामान्य समर्थक प्रत्यक्ष रूपमा विश्वकप हेर्नबाट वञ्चित भएको टिप्पणी गरेका छन्।
फुटबल सपोर्टर्स युरोपका कार्यकारी निर्देशक रोनान इभानले भने, ‘यो विश्वकप आर्थिक रूपमा सक्षम सीमित व्यक्तिहरूका लागि मात्र भएको जस्तो देखियो। अमेरिका यात्रा गर्न सक्ने, भिसा सहजै पाउने र महँगो टिकट किन्न सक्ने समर्थकले मात्रै प्रत्यक्ष रूपमा प्रतियोगिताको आनन्द लिन पाए।’ यद्यपि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले यस विश्वकपलाई इतिहासकै सबैभन्दा समावेशी विश्वकप बनाउने दाबी गर्दै आएका छन्।