

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने फिफा विश्वकप २०२६ को फाइनल खेलमा विशेष अतिथिका रूपमा सहभागी हुने भएका छन्। न्यु जर्सीमा हुने स्पेन र अर्जेन्टिनाबीचको उपाधि भिडन्तपछि ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई ट्रफी प्रदान गर्ने कार्यक्रम रहेको छ।
यो ट्रम्पले प्रत्यक्ष रूपमा अवलोकन गर्ने पहिलो विश्वकप खेल हुनेछ। प्रतियोगिताका क्रममा भने उनको भूमिकालाई लिएर विवाद पनि भएको थियो। अन्तिम १६ चरणअघि अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथि लागेको रातो कार्ड फिर्ता लिन वा निलम्बन हटाउन ट्रम्पले फिफा अध्यक्ष इन्फान्टिनोलाई फोन गरेको समाचार सार्वजनिक भएको थियो।
ट्रम्पले यस विश्वकपलाई अहिलेसम्मकै सबैभन्दा सफल संस्करण भएको दाबी गर्दै प्रतियोगिताले अमेरिकामा फुटबलप्रतिको आकर्षण र लोकप्रियता उल्लेखनीय रूपमा बढाएको बताएका छन्।
फाइनल खेलमा ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प, उनका छोरा ब्यारन ट्रम्प तथा मेलानियाका पिता भिक्टर नाभ्स पनि उपस्थित हुने जनाइएको छ।
त्यसैगरी, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, स्पेनी राजपरिवारका सदस्य, सहआयोजक राष्ट्र मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाम तथा क्यानडाका प्रधानमन्त्री मार्क कार्नी पनि फाइनल अवलोकन गर्न रंगशाला पुग्ने कार्यक्रम रहेको छ।
उच्चस्तरीय पाहुनाको उपस्थितिलाई मध्यनजर गर्दै न्यु जर्सीस्थित रंगशालामा कडा सुरक्षा व्यवस्था मिलाइएको छ। ट्रम्पको आगमनका बेला रंगशाला वरपरको हवाई क्षेत्रलाई अस्थायी रूपमा ‘नो-फ्लाइ जोन’ घोषणा गरिने जनाइएको छ।
दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएपछि ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोबीचको सम्बन्ध थप निकट बनेको मानिन्छ। ट्रम्पले विश्वकप र सन् २०२८ को लस एन्जलस ओलम्पिक आयोजना गर्ने अवसरलाई आफ्नो प्रशासनको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएका छन्।
यसअघि न्यु जर्सीमै सम्पन्न फिफा क्लब विश्वकपको उपाधि वितरण समारोहमा ट्रम्पले ट्रफी हस्तान्तरणपछि पनि विजेता टोलीसँगै मञ्चमै बसेको घटनाले व्यापक चर्चा पाएको थियो। पछि उनले उक्त ट्रफी ह्वाइट हाउसमा राखिएको दाबी गरे पनि फिफाले त्यहाँ राखिएको ट्रफी सक्कली नभई प्रतिकृति (रेप्लिका) भएको स्पष्ट पारेको थियो।