

काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने र हिलो जम्दा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीले केही सडक सञ्चालनमा आए पनि कतिपय स्थानमा आवागमन अझै अवरुद्ध रहेको जनाएको छ।
प्रहरीका अनुसार मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित कान्तिलोकपथमा बुधबार साँझ खसेको पहिरो पन्छाइएपछि उक्त सडकखण्ड बिहीबार बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
यद्यपि, वर्षायाममा हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै कान्तिलोकपथमा दैनिक बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसीस्थित बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
यसबीच, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
यस्तै, अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ स्थित सालझण्डी–ढोरपाटन सडकखण्डमा ढुङ्गा खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ।
उता, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएको छ। सडक विभाग, नेपाल प्रहरी तथा सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेका छन्।
प्रहरीले वर्षायाममा यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त सडकखण्डमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।