

जनकपुरधाम। जनकपुरस्थित प्रसिद्ध जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न पुगेका नेता तथा कार्यकर्तामाथि दुर्व्यवहार भएपछि केहीबेर तनाव उत्पन्न भएको छ।
मंगलबार साम्पाङ जानकी मन्दिर दर्शनका लागि जनकपुर आउने कार्यक्रम रहेकामा उनी आउनुअघि स्वागतका लागि पुगेका श्रम संस्कृति पार्टीका कार्यकर्तालाई हिन्दु सम्राट सेनासँग आबद्ध व्यक्तिहरूले लखेटेको जनाइएको छ।
हिन्दु सम्राट सेनाले विगतमा साम्पाङले गाईको मासु खाने विषयमा दिएको अभिव्यक्तिलाई आधार बनाउँदै उनलाई जानकी मन्दिर प्रवेश गर्न नदिने चेतावनी दिएको थियो।
घटनापछि अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै लेखेका छन्, “गाई कसले खाएको रैछ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें! यो कसले कस्तो राजनीति गर्न खोजेको रैछ? जय जानकी मन्दिर!”
यसअघि उनले अर्को स्टाटसमा “जनकपुरमा लफडा, गृहमन्त्रीको फोन अफ!” भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनले पुराना अभिव्यक्ति र धर्मको विषयलाई लिएर विवाद सिर्जना गरिएको आरोप लगाउँदै आफ्ना कार्यकर्तालाई संयमित रहन आग्रह पनि गरेका छन्।
श्रम संस्कृति पार्टीले आज जनकपुरमा साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ।
घटनास्थलमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।