सुन्दरीजलमा नै खानेपानीकाे चरम अभाव

सुन्दरीजलमा नै खानेपानीकाे चरम अभाव

काठमाडौं । राजधानीलाई मेलम्चीको पानी उपलब्ध गराउने सुन्दरीजल आसपासका बासिन्दा भने वर्षौंदेखि खानेपानी अभाव झेल्न बाध्य भएका छन्। राजधानीमा पानी वितरण भइरहे पनि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका धेरै बस्तीमा नियमित खानेपानी नपुग्दा स्थानीय अझै ढुङ्गेधारा, कुवा र सार्वजनिक धारामै निर्भर छन्।

मुहान क्षेत्रका बासिन्दाले लामो समयदेखि समस्या समाधानको माग गर्दै आए पनि प्रभावकारी पहल हुन नसकेको गुनासो गरेका छन्। प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले समेत समस्या समाधान नभए मेलम्चीको पानी राजधानीमा आपूर्ति हुन नदिने चेतावनी दिएका छन्। शनिबार उनले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र पुगेर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अधिकारीसँग छलफल गर्दै तत्काल समाधानको पहल गर्न निर्देशन दिएका हुन्।

सिन्धुपाल्चोकको हेलम्बुबाट सुरुङमार्फत ल्याइने मेलम्चीको पानी सुन्दरीजलमा प्रशोधन गरेर काठमाडौं उपत्यकामा वितरण गरिन्छ। बागमती नदीको पानी पनि यहीँबाट प्रशोधन गरी आपूर्ति गरिन्छ। तर, स्रोत क्षेत्रकै बासिन्दा भने आधारभूत खानेपानी सेवाबाट वञ्चित छन्।

कागेश्वरी मनोहरा–३ की सावित्री सापकोटाले १० लिटर पानीका लागि आधा घण्टा हिँडेर सार्वजनिक धारामा पुग्नुपर्ने र पालो कुर्दै घण्टौँ बिताउनुपर्ने बाध्यता रहेको बताइन्। स्थानीय केशवप्रसाद पुडासैनीले पर्याप्त पूर्वाधार भए पनि दिगो व्यवस्थापनको अभावमा संविधानले सुनिश्चित गरेको स्वच्छ खानेपानीको अधिकारबाट स्थानीय वञ्चित भएको गुनासो गरे।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता नारायणबहादुर सुवेदीले नगरपालिकाले आवश्यक पाइपलाइन निर्माण गरेर केयूकेएललाई हस्तान्तरण गरे पनि अपेक्षित रूपमा पानी वितरण हुन नसकेको स्वीकार गरे।

केयूकेएलका प्रबन्ध निर्देशक रामरतन साहले पुरानो वितरण प्रणाली नै मुख्य समस्या भएको बताए। पञ्चायतकालमा निर्माण गरिएको पाइपलाइन अहिलेको जनसंख्या धान्न नसक्ने अवस्थामा पुगेकाले नयाँ वितरण प्रणाली निर्माण गर्ने सहमति भएको उनले जानकारी दिए।

यता, सुन्दरीजलस्थित पुरानो बागमती पानी प्रशोधन केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा बौद्धलगायत क्षेत्रमा धमिलो पानी वितरण भइरहेको स्थानीयवासीले गुनासो गरेका छन्। नागरिकहरूले शुद्ध र नियमित खानेपानीको व्यवस्था तत्काल गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।