

काठमाडौं । बजारमा खसीको मासुको मूल्य अस्वाभाविक रूपमा बढेपछि सरकारले यसको अधिकतम बिक्री मूल्य निर्धारण गर्ने तयारी थालेको छ। पछिल्लो समय काठमाडौं उपत्यकामा खसीको मासु प्रतिकिलो १ हजार ६ सय रुपैयाँसम्म बिक्री हुन थालेपछि सरकार बजार हस्तक्षेपको तयारीमा जुटेको हो।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका अनुसार व्यापारीहरूले खसीको अभाव देखाउँदै कृत्रिम रूपमा मूल्य बढाएको भन्ने व्यापक गुनासो आएपछि बजारको अवस्था अध्ययन गरी मूल्यको सीमा निर्धारण गर्ने प्रक्रिया अघि बढाइएको छ।
विशेषगरी बर्डफ्लु संक्रमणका कारण कुखुराको मासुको खपत घटेपछि उपभोक्ताहरू खसीको मासुतर्फ आकर्षित भएका छन्। यही अवस्थालाई अवसरका रूपमा उपयोग गर्दै केही व्यापारीले प्रतिकिलो ३ सयदेखि ४ सय रुपैयाँसम्म मूल्य बढाएको आरोप लागिरहेको छ। कतिपय मासु पसलले भने खसीको आपूर्ति नै कम भएको दाबी गर्दै उपभोक्तालाई फर्काउने गरेका छन्।
यसैबीच, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले खसीको मासुको मूल्यमा आएको अस्वाभाविक वृद्धिप्रति सरकार गम्भीर रहेको बताएकी छन्।
मन्त्रीको सचिवालयका अनुसार मन्त्रालयले बजारको वास्तविक अवस्था, आपूर्ति प्रणाली र मूल्य संरचनासम्बन्धी विस्तृत तथ्याङ्क संकलन गरिसकेको छ। सोही अध्ययनका आधारमा उपभोक्तालाई राहत पुग्ने गरी आवश्यक निर्णय लिइने मन्त्रालयले जनाएको छ।
सरकारले कृत्रिम अभाव सिर्जना गरी मूल्य वृद्धि गर्ने, कालोबजारी गर्ने वा उपभोक्ता ठगी गर्ने व्यवसायीमाथि निगरानी बढाउने संकेतसमेत दिएको छ।