काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन्।
सोमबार सिंहदरबारमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले सभामुखले विपक्षी दलहरूको ‘नाडी छाम्ने’ प्रयास नगर्न चेतावनी दिए।
उनले सभामुख कुनै राजनीतिक दलको प्रतिनिधि नभई संसद्को साझा अभिभावक भएकाले आफ्नो संवैधानिक भूमिका र जिम्मेवारी बुझेर अघि बढ्नुपर्ने बताए।
‘संसद्मा विरोध जनाएपछि विपक्षी दलहरूले पनि आफ्नो धारणा राख्न पाउनुपर्छ। संसद्भित्र विपक्षीको नाडी छाम्ने काम गर्नुहुँदैन। सदन सञ्चालन गर्ने सभामुखले आफ्नो भूमिका बुझ्नुपर्छ। उहाँ अहिले कुनै पार्टीको हुनुहुन्न। यो कुरा बुझेर अघि बढ्नुभयो भने सहज हुन्छ,’ उनले भने।
आङ्देम्बेले संसद्मा सबै दलका प्रतिनिधिलाई समान रूपमा बोल्ने अवसर उपलब्ध गराइनुपर्नेमा जोड दिए।
उनले सत्तापक्षबाट पटक–पटक विवादित अभिव्यक्ति आइरहे पनि प्रतिपक्षले संसद्को दैनिक कार्यसूची सञ्चालनमा सहयोग गर्दै आएको उल्लेख गर्दै त्यसलाई कमजोरीका रूपमा नलिन आग्रह गरे।
‘प्रतिपक्षले दैनिक कार्यसूची सञ्चालनका लागि देखाएको सहृदयतालाई कमजोरी होइन, मित्रवत् सहयोगका रूपमा बुझ्नुपर्छ। हामीले त्यो सहयोग मुलुकको हितलाई केन्द्रमा राखेर गरेका हौँ,’ उनले भने।
नेता आङ्देम्बेका अनुसार सत्तापक्षले विपक्षी दलसँग आवश्यक समन्वय नगर्दा संसद्मा बारम्बार समस्या सिर्जना हुने गरेको छ।