नेप्से ८ महिनाकै न्यून बिन्दुमा, ३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो

नेप्से ८ महिनाकै न्यून बिन्दुमा, ३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले घट्दै करिब आठ महिनाकै न्यून बिन्दुमा पुगेको छ।

यस दिन नेप्से परिसूचक २५७० अंकमा झरेको हो। यो स्तर गत मंसिर ४ यताकै सबैभन्दा न्यून हो। त्यस दिन नेप्से २५६० अंकमा कायम भएको थियो।

बजारमा तीव्र गिरावट आए पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ७ अर्ब ४६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यो कारोबार रकम वैशाख ९ यताकै उच्च हो।

दिनभर बजारमा बिक्री दबाब कायम रहँदा २२ कम्पनीको सेयर मूल्य बढेको, २४९ कम्पनीको घटेको र ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

सबै समूहगत परिसूचक राताम्मे भएका छन्। व्यापार समूह सबैभन्दा धेरै २.३० प्रतिशत घटेको छ। यस्तै बैंकिङ ०.६८, विकास बैंक ०.८३, फाइनान्स १.३२, होटल तथा पर्यटन १.९९, जलविद्युत् १.९८, लगानी ०.८८, जीवन बीमा १.०७, उत्पादन तथा प्रशोधन १.३६, माइक्रोफाइनान्स ०.८७, निर्जीवन बीमा ०.७५ तथा अन्य समूह ०.८५ प्रतिशतले घटेका छन्।

व्यक्तिगत कम्पनीतर्फ सामुदायिक लघुवित्तको सेयर मूल्य ५.३७ प्रतिशत र आत्मनिर्भर लघुवित्तको ५ प्रतिशतले बढेको छ।

यता उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ११.२८ प्रतिशतले घटेको छ। साथै बुद्धभूमि हाइड्रोपावर ७.४७ प्रतिशत, दिव्यश्वरी हाइड्रोपावर ६.५१ प्रतिशत, हिमस्टार ऊर्जा ६.४२ प्रतिशत र टक्सार पिखुवाखोला हाइड्रोपावर ६.२४ प्रतिशतले ओरालो लागेका छन्।

सोमबार कारोबार रकमका आधारमा ऋणपत्र (डिबेन्चर)हरू अग्रस्थानमा रहेका छन्।