सिक्टा सिँचाइ आयोजनाबाट बाँकेका किसान उत्साहित

सिक्टा सिँचाइ आयोजनाबाट बाँकेका किसान उत्साहित

नेपालगञ्ज । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित रूपमा पानी उपलब्ध गराउन थालेपछि किसानहरू उत्साहित भएका छन्। राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले मर्मतसम्भारको अवधिबाहेक किसानको मागअनुसार वर्षभरि नहरमा पानी छोड्दै आएको जनाएको छ।

आयोजनाका सूचना अधिकारी तथा वरिष्ठ डिभिजनल इन्जिनियर मनोजकुमार साहका अनुसार किसानलाई सिँचाइ अभाव हुन नदिन आवश्यकताअनुसार नियमित पानी उपलब्ध गराइँदै आएको छ। यसले धान र गहुँबाहेक व्यावसायिक बेमौसमी तरकारी खेतीमा समेत किसानलाई लाभ पुगेको छ।

आयोजनाले बाँके जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ। हालसम्म करिब २४ हजार हेक्टर क्षेत्रफलमा प्रत्यक्ष रूपमा नियमित सिँचाइ सुविधा पुगेको आयोजनाले जनाएको छ।

पहिले आकाशे पानीमा निर्भर रहेका राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिकाबैजनाथ गाउँपालिका का किसानले अहिले समयमै धानको बीउ राख्न सकेका छन्।

राप्तीसोनारी गाउँपालिका–७ का वडाध्यक्ष रामलखन थारुले पर्याप्त वर्षा नभए पनि सिक्टा सिँचाइ पुगेका क्षेत्रमा किसानहरूले धानको बीउ हुर्काइसकेको बताए। उनका अनुसार फत्तेपुर क्षेत्रका किसानले समयमै धानको ब्याड तयार गरिसकेका छन् र सिक्टा आयोजना किसानका लागि वरदान सावित भएको छ।

सिँचाइ सुविधा पुगेका क्षेत्रबाहेक अन्य स्थानमा किसानहरूले मोटर तथा खानेपानीको धाराको पानी प्रयोग गरेर धानको बीउ राख्ने काम गरिरहेका छन्। कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माका अनुसार हालसम्म जिल्लामा करिब ४५ प्रतिशत किसानले धानको बीउ ब्याड राखिसकेका छन्। बाँकेमा वार्षिक रूपमा करिब ३३ हजार ७८० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने गरेको छ।