१५ वर्षदेखि अधुरो कमला पुलको पुनः निरीक्षण, स्थानीयको आक्रोश– ‘अनुगमन होइन, निर्माण सम्पन्न गर’

१५ वर्षदेखि अधुरो कमला पुलको पुनः निरीक्षण, स्थानीयको आक्रोश– ‘अनुगमन होइन, निर्माण सम्पन्न गर’

जनकपुर । सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला पुल निर्माण सुरु भएको १५ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। पुलको पछिल्लो अवस्था बुझ्न मधेश प्रदेशका पूर्वाधार विकास मन्त्री सुनील लम्सालले स्थलगत निरीक्षण गरेका छन्।

पूर्वी मधेशका विभिन्न विकास आयोजनाहरूको अनुगमनका क्रममा मन्त्री लम्साल नेतृत्वको टोलीले कमला पुलको अवलोकन गरेको हो। निर्माणाधीन पुलको निरीक्षण गर्ने मन्त्री लम्साल १५ वर्षको अवधिमा पुग्ने १८औँ मन्त्री बनेका छन्। यद्यपि मन्त्रीहरू फेरिने र निरीक्षण हुने क्रम निरन्तर चलिरहे पनि पुल निर्माण कार्य भने अझै अधुरै रहेको छ।

लामो समयदेखि पुल निर्माण नटुंगिँदा स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन्। यही कारण मन्त्री लम्साल निरीक्षणका लागि पुग्दा स्थानीयले विरोधसमेत जनाएका छन्। पुल निर्माण सम्पन्न गर्ने ठोस कार्ययोजना सार्वजनिक नगरी पटक–पटक निरीक्षण मात्र हुने गरेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका हुन्।

स्थानीयको विरोधबीच मन्त्री लम्सालले अब कुनै पनि बहानामा पुल निर्माणको काम नरोकिने बताएका छन्। उनले कमला पुलसँगै अन्य महत्वपूर्ण पूर्वाधार आयोजनाहरूको समेत अनुगमन गरेका छन्।

भ्रमणका क्रममा टोलीले काँकडभिट्टा–लौकही सडक आयोजनाअन्तर्गतका तीन खण्डको प्रगति समीक्षा गरेको थियो। साथै सप्तरीको कञ्चनपुरदेखि सिराहाको कमलासम्म करिब ८७ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने योजनाबारे पनि जानकारी लिएको छ।

मन्त्री लम्सालले एशियाली विकास बैंक र विश्व बैंकको लगानीमा सञ्चालित विभिन्न पूर्वाधार परियोजनाहरूको समेत निरीक्षण गरेका छन्। उनले विकास आयोजनाहरू निर्धारित समयभित्र सम्पन्न गर्न मन्त्रालयले आवश्यक सहजीकरण, समन्वय र प्रभावकारी अनुगमनलाई उच्च प्राथमिकतामा राखेको बताए।

यसअघि पनि मन्त्री लम्सालले बुटवल, मुलिङ र नागढुंगा सडकखण्डको अनुगमन गर्दै निर्माण कार्य समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।