बिना कारण पेट्रोल पम्प बन्द गरे १० लाखसम्म जरिबाना, इन्धन आपूर्ति पनि रोक्का हुने

बिना कारण पेट्रोल पम्प बन्द गरे १० लाखसम्म जरिबाना, इन्धन आपूर्ति पनि रोक्का हुने

काठमाडौं । अब उचित कारणबिना पेट्रोल पम्प बन्द गरेर इन्धन अभाव सिर्जना गर्ने व्यवसायीलाई तीन लाखदेखि १० लाख रुपैयाँसम्म जरिबाना गरिने भएको छ। साथै, कसुरको प्रकृतिअनुसार पाँचदेखि १५ दिनसम्म नेपाल आयल निगमबाट इन्धन आपूर्ति रोक्का गरिने व्यवस्था पनि लागू गरिएको छ।

नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोल पम्पको नियमनका लागि लागू रहेको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

हालै पेट्रोलियम पदार्थको मूल्य घट्ने अनुमान गर्दै केही व्यवसायीले निगमका डिपोबाट इन्धन नउठाएपछि देशभर इन्धन आपूर्तिमा समस्या देखिएको थियो। मंगलबार व्यवसायीले इन्धन लोड नगर्दा बुधबार बिहानदेखि विभिन्न स्थानमा पेट्रोल पम्प बन्द भएका थिए र उपभोक्ताले लामो लाइनमा बस्नुपरेको थियो।

घटनापछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले अत्यावश्यक वस्तुको आपूर्ति अवरुद्ध गर्ने व्यवसायीमाथि कारबाही गर्न स्पष्ट कानुनी व्यवस्था गर्न निर्देशन दिएकी थिइन्।

मन्त्रीको निर्देशनलगत्तै बुधबार साँझ बसेको नेपाल आयल निगमको सञ्चालक समिति बैठकले विनियमावलीको विनियम २९ (घ) (१) मा ‘बिक्रेताले नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नहुने’ भन्ने नयाँ व्यवस्था थप गरेको छ।

संशोधित व्यवस्थाअनुसार पहिलो पटक यस्तो कसुर गर्ने पेट्रोल पम्पलाई ३ लाख रुपैयाँ जरिबाना गरिनेछ र पाँच दिनसम्म निगमको डिपोबाट इन्धन उपलब्ध गराइने छैन। दोस्रो पटक दोहोरिए ६ लाख रुपैयाँ जरिबाना तथा १० दिनसम्म आपूर्ति रोक्का हुनेछ भने तेस्रो पटक पनि उल्लंघन गरे १० लाख रुपैयाँ जरिबानासहित १५ दिनसम्म इन्धन आपूर्ति बन्द गरिनेछ।

उद्योग मन्त्रालयका अनुसार नयाँ व्यवस्थाले भविष्यमा कुनै पनि पेट्रोल पम्पले उचित कारणबिना बिक्री वितरण बन्द गरी कृत्रिम अभाव सिर्जना गरे कडा कारबाहीको सामना गर्नुपर्नेछ।