लगातार तेस्रो दिन घट्यो सुनको मूल्य, तीन दिनमै तोलामा १० हजार ४ सय रुपैयाँले सस्तियो

लगातार तेस्रो दिन घट्यो सुनको मूल्य, तीन दिनमै तोलामा १० हजार ४ सय रुपैयाँले सस्तियो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ। पछिल्ला तीन दिनमा सुनको भाउ तोलामा कुल १० हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार २ सय रुपैयाँले घटेर २ लाख ७८ हजार ३ सय रुपैयाँ कायम भएको छ। बुधबार सुनको भाउ प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको थियो भने मंगलबार पनि १ हजार ६ सय रुपैयाँले घटेको थियो।

यसअघि गत शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला १० हजार ५ सय रुपैयाँले घटेको थियो। यद्यपि, सुनको मूल्यले यस वर्ष माघ १५ गते हालसम्मकै उच्च कीर्तिमान बनाउँदै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार चाँदी प्रतितोला २५० रुपैयाँले घटेर ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य १०५ रुपैयाँले घटेर ४ हजार ४ सय ८५ रुपैयाँमा कायम भएको थियो।

चाँदीले पनि यस वर्ष माघ १५ गते हालसम्मकै उच्च मूल्य कायम गर्दै प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो। त्यसको तीन दिनपछि माघ १८ गते चाँदीको मूल्य एकैदिन प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै सबैभन्दा ठूलो दैनिक गिरावट मानिन्छ।