

मुगु : कर्णाली प्रदेशका मुगु र आसपासका जिल्लाहरूमा महिनावारी भएका महिलाहरूप्रति पुरानै अन्धविश्वास अझै कायम छ। यहाँ महिनावारीका बेला महिलालाई गाई, भैँसीको दुध, दही वा कुनै सेतो वस्तु नदिने चलन छ। अन्धविश्वास अनुसार यस्तो गरे जनावर बाँझो हुने वा फलफूलका बिरुवाहरू सुक्ने मानिन्छ।
छायाँनाथ रारा नगरपालिका–६ की मुनरुपा बोहरा भन्छिन्, “महिनावारी भएका महिलाले गाई, भैँसीको दूध, दही पिउन नपाउने मात्र होइन, ती जनावरको शरीरसमेत छुन नपाउने परम्परा छ।” यसैगरी, महिनावारी भएका महिलालाई घरभित्र राख्दा देउता रिसाउने र अशुभ हुने भनाइ पनि यहाँ प्रचलित छ।
महिलाहरूलाई छाउगोठमा, जाडो र बरसातको हिलोमा सुत्न बाध्य गरिने यी मान्यताले महिला स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको छ। छायाँनाथ रारा नगरपालिका वडा नं ८ का साजसेवी लालबहादुर रावलले भने, “यी अन्धविश्वासहरूले महिनावारी भएका महिलालाई गाईभैँसी र अन्य सेतो वस्तुबाट टाढा राख्ने चलन अहिले पनि कायमै छ।”
स्वास्थ्य सेवा कार्यालय मुगुकी नर्सिङ प्रमुख मनिषा लामिछानेले महत्त्वपूर्ण सुझाव दिइन् कि महिनावारीका बेला महिलाको शरीर कमजोर हुने भएकाले पौष्टिक खाना, हरियो सागसब्जी, फलफूल र दूध–दही सेवन अत्यावश्यक छ। उनले टुसा उमारेको गेडागुडी, चाकु, फलामको भाँडामा पकाएको दालजस्ता खाना स्वास्थ्यका लागि लाभदायक भएको बताइन्।
स्थानीय महिलाहरूले महिनावारी भएकाहरूलाई शरीरको पवित्रता कायम राख्न गाईको गहुत (पिसाब) छर्कने र कपडामा सुनपानी छर्केर सफा गर्ने चलन पनि रहेको बताए।
यसरी, मुगुका महिलामाथि रहेको महिनावारी सम्बन्धी यस्ता अन्धविश्वासले उनीहरूको स्वास्थ्य र सामाजिक जीवनमा चुनौती थपिरहेको छ।