आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशका हिमाली तथा पहाडी भूभाग र वाग्मती तथा गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ । राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । अन्य भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।

तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएको छ । राति कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ ।