सिँचाइ आयोजनाको पहिलो त्रैमासिक प्रगति उत्साहजनक, २३९ करोड खर्च

सिँचाइ आयोजनाको पहिलो त्रैमासिक प्रगति उत्साहजनक, २३९ करोड खर्च

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा सिँचाइ आयोजनाहरूले उत्साहजनक प्रगति गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले पहिलो तीन महिनामा २३९ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ।

विभागका महानिर्देशक दिनेश रजौरियाका अनुसार कुल खर्चमध्ये ८८ प्रतिशत रकम पुँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको छ।

उनका अनुसार महाकाली सिँचाइ आयोजना (कञ्चनपुर) ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत प्रगति गरेको छ। आयोजनाले ४३ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो।

त्यस्तै, त्रैमासिक लक्ष्यको तुलनामा बबई सिँचाइ आयोजनाले ८१.८ प्रतिशत, सिक्टा सिँचाइ आयोजनाले ८०.२ प्रतिशत र रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ७१ प्रतिशत भौतिक प्रगति हासिल गरेका छन्।

महानिर्देशक रजौरियाका अनुसार यी चार ठूला आयोजनाले मात्रै १३९ करोड रुपैयाँ खर्च गरेका छन्। यो विभागको कुल खर्चको ५८ प्रतिशत हो।

विभागका अनुसार दाङस्थित प्रगन्ना–बड्कापथ सिँचाइ आयोजनाले ८८.२ प्रतिशत प्रगति गरेको छ। त्यस्तै, गहिरो ट्युबवेल सिँचाइ आयोजना र सिँचाइ संस्थागत विकास कार्यक्रमले शतप्रतिशत लक्ष्य हासिल गरेका छन्।

महानिर्देशक रजौरियाले तयारी पूरा भएका आयोजनामा बजेट र काम दुवै अघि बढेको बताउँदै दोस्रो त्रैमासिकमा ढिलो सुरु भएका आयोजनालाई पनि यही गतिमा अघि बढाउनु प्राथमिकता रहेको जानकारी दिए।

‘तयारी पुगेका आयोजनामा बजेट र काम दुवै अघि बढेका छन्। दोस्रो त्रैमासिकमा ढिलो सुरु भएका आयोजनालाई पनि यही गतिमा ल्याउनु हाम्रो प्राथमिकता हुनेछ,’ उनले भने।