चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृह मन्त्रालयको निर्देशन

चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन रोक्न गृह मन्त्रालयले निर्देशन दिएको निर्माण पक्षले दाबी गरेको छ। निर्माण टिमका एक सदस्यका अनुसार गृह मन्त्रालयले सञ्चार मन्त्रालयलाई प्रदर्शन रोक्न निर्देशन दिएको र सञ्चार मन्त्रालयले यसबारे मौखिक जानकारी गराएको हो।

ती सदस्यका अनुसार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले चलचित्रको प्रदर्शन रोक्न गृह मन्त्रालयलाई पत्राचार गरेका थिए। बाँके जिल्ला प्रशासन कार्यालयमा केही व्यक्तिहरू पुगेर चलचित्रको प्रदर्शन रोक्न माग गरेपछि प्रमुख जिल्ला अधिकारीले पत्राचार गरेको उनको भनाइ छ।

चलचित्र ‘पाँच पाण्डव’ले महाभारतको गलत व्याख्या गरेको र द्रौपदीलाई आइटम गीतमा नचाएको भन्दै पछिल्लो समय सामाजिक सञ्जालमा विवाद भइरहेको छ। यद्यपि, चलचित्रले धार्मिक सहिष्णुता भड्काउने प्रयास नगरेको निर्माण टिमले सार्वजनिक रूपमा स्पष्ट पारिसकेको छ।

चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट जाँच पास भई युनिभर्सल प्रमाणपत्रसमेत प्राप्त गरिसकेको निर्माण पक्षको भनाइ छ। सरकारी निकायबाट प्रदर्शनका लागि स्वीकृति पाइसकेको चलचित्र रोक्न नमिल्ने निर्माण टिमका ती सदस्यले बताए।

‘यो अभिव्यक्ति स्वतन्त्रताको विषय पनि हो। कसैको अभिव्यक्तिमाथि अंकुश लगाउने कुरा संविधानको मर्मविपरीत हुन्छ। प्रचारप्रसारमा लाखौँ रुपैयाँ खर्च भइसकेको अवस्थामा प्रदर्शन रोक्दा निर्माण टिमलाई ठूलो क्षति पुग्छ,’ उनले भने।

निर्माण टिमले निर्धारित मितिमै चलचित्र प्रदर्शनमा ल्याउने उद्देश्यसहित सरकारसँग वार्ता गर्ने तयारी गरिरहेको जनाएको छ। चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल र दीपाश्री निरौलालगायत कलाकारको अभिनय रहेको छ। सुशील पौडेलले पटकथा लेखेको चलचित्रको निर्देशन वसन्त निरौलाले गरेका हुन्।