आईजीपी कार्की पदमुक्त, एआईजी मनोज केसीलाई नयाँ प्रहरी प्रमुखको जिम्मेवारी

आईजीपी कार्की पदमुक्त, एआईजी मनोज केसीलाई नयाँ प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदमुक्त गर्दै अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको बताइएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाएर केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको स्रोतको भनाइ छ। कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णयसमेत भएको बताइएको छ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सस्मित पोखरेलले कार्कीमाथि कारबाही गरिएको नभई जिम्मेवारी हेरफेर मात्र गरिएको दाबी गरेका छन्। उनले यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समेत निर्देशन आएको उल्लेख गरेका छन्। कार्कीलाई हटाउने निर्णय र केसीको नियुक्तिसम्बन्धी विषयले प्रहरी संगठनको नेतृत्व परिवर्तनसँगै सरकार र प्रहरी प्रशासनबीचको सम्बन्धबारे पनि प्रश्न उठाएको छ।