अपराजित लुम्बिनी र लयमा फर्किएको जनकपुर भिड्दै, कसले मार्ला बाजी?

अपराजित लुम्बिनी र लयमा फर्किएको जनकपुर भिड्दै, कसले मार्ला बाजी?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत बिहीबार पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। प्रतियोगिताको १४औँ खेलका रूपमा रहेको यो भिडन्त दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ।

जारी प्रतियोगितामा लुम्बिनीले चौथो र जनकपुरले पाँचौँ खेल खेल्न लागेका हुन्। लिग चरणका खेलहरू आधाआधी पुग्न लाग्दा दुवै टोली प्लेअफको दौडमा छन्। लुम्बिनी अहिलेसम्म अपराजित रहँदै प्रतियोगितामा एक खेल पनि नहारेको एकमात्र टोली बनेको छ।

लुम्बिनीले तीन खेलबाट पाँच अंक जोड्दै अंकतालिकाको शीर्ष स्थान ओगटेको छ। जनकपुर भने चार खेलमा दुई जित र दुई हारसहित चार अंक जोडेर चौथो स्थानमा छ।

लुम्बिनीले उद्घाटन खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो। चितवन राइनोजसँगको खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए। आफ्नो तेस्रो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई आठ विकेटले हराएको थियो।

जनकपुरले भने कर्णाली याक्ससँग १९ रनले पराजित हुँदै प्रतियोगिताको सुरुआत गरेको थियो। त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई आठ विकेटले र तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई नौ रनले हराएको थियो। तर, चौथो खेलमा विराटनगर किङ्ससँग रोमाञ्चक प्रतिस्पर्धामा दुई रनले पराजित भयो।

ब्याटिङमा सेफ हसन र मोइन अलीको भरोसा

जनकपुरका लागि ब्याटिङमा सेफ हसन र मोइन अली मुख्य भरोसा बनेका छन्। सेफले तीन खेलमा एक अर्धशतकसहित ११२ रन बनाएका छन्। विराटनगरविरुद्ध उनले ४८ बलमा ७१ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए। उनी जारी संस्करणमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा छन्।

मोइनले चार खेलमा एक अर्धशतकसहित १०८ रन बनाएका छन्। उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पाँचौँ स्थानमा छन्। लुम्बिनीका लागि भने अस्ट्रेलियाली ब्याट्सम्यान डार्शी सर्टले दुई खेलमा ५३ रन बनाएका छन्। कप्तान रोहित पौडेलको नाममा पनि ५२ रन छ।

बलिङतर्फ जनकपुरका मोइन अली सर्वाधिक प्रभावशाली देखिएका छन्। उनले चार खेलमा सात विकेट लिँदै प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचीमा शीर्ष स्थान बनाएका छन्। कप्तान हरमित सिंह र १६ वर्षीय युवा बलर राहुल यादवले पनि समान ६ विकेट लिएका छन्।

लुम्बिनीका लागि शेर मल्ल र किशोर महतोले समान चार विकेट लिएका छन्। दुवै बलरले टोलीको बलिङ आक्रमणमा महत्त्वपूर्ण योगदान दिएका छन्।

हेड टु हेडमा लुम्बिनी र जनकपुर बराबरी

एनपीएलको इतिहासमा लुम्बिनी र जनकपुर बिहीबार तेस्रो पटक आमनेसामने हुन लागेका हुन्। पहिलो संस्करण सन् २०२४ को लिग चरणमा जनकपुरले लुम्बिनीलाई एक रनले पराजित गरेको थियो। दोस्रो संस्करण सन् २०२५ मा भने लुम्बिनीले अघिल्लो हारको बदला लिँदै जनकपुरलाई चार विकेटले हराएको थियो।

यसपटकको भिडन्तमा दुवै टोली आफ्नो पुरानो प्रतिस्पर्धालाई निरन्तरता दिँदै जित निकाल्ने लक्ष्यमा हुनेछन्।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीमा डार्शी सर्ट, आसिफ शेख, निरोशन डिकवेला, समिम होसैन, तिलक भण्डारी, सन्दीप जोरा, दिलीप नाथ, किशोर महतो र शेर मल्ललगायत खेलाडी छन्।

यस्तै, हरमित सिंहको कप्तानीमा रहेको जनकपुरको टोलीमा मोइन अली, तृतराज दास, सेफ हसन, अनिल साह, विशाल सुस्लिङ, जेम्स निशम, अभिषेक तिवारी, ललित राजवंशी, राहुल यादव र अमरसिंह रौटेलालगायत खेलाडी छन्।

अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा रहेको लुम्बिनी र जितसहित शीर्ष टोलीलाई चुनौती दिने योजनामा रहेको जनकपुरबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ।