

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारको धनतेरसलाई लक्षित गर्दै बिहीबारदेखि सुन तथा चाँदीका सिक्का बिक्री गर्ने भएको छ। यस वर्ष राष्ट्र बैंकले सुनका सिक्का (असर्फी) समेत बिक्री गर्न लागेको हो। राष्ट्र बैंकले अघिल्ला दुई वर्ष चाँदीका सिक्का (मेडालियन) मात्रै बिक्री गरेको थियो। यसपटक भने सुनका असर्फी पनि बिक्री गर्ने तयारी गरेको छ।
असर्फी निर्माणका लागि राष्ट्र बैंकले दसैँअघि नै वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरेको थियो। उक्त सुनबाट अहिले असर्फी टकमरी भइरहेको छ। नेपालमा वाणिज्य बैंकहरूले मात्रै सुन आयात गर्न पाउने व्यवस्था छ। राष्ट्र बैंकका अनुसार सुनको एउटा असर्फीको मूल्य ६० देखि ७० हजार रुपैयाँसम्म पर्ने अनुमान छ। त्यस्तै, चाँदीका सिक्काको मूल्य चार हजार रुपैयाँभन्दा केही बढी हुन सक्नेछ।
राष्ट्र बैंकले बिक्री गर्ने सुनका असर्फीको शुद्धता करिब ९९.९९ प्रतिशत हुने बताइएको छ।