आईजीपी कार्कीलाई कारबाही होइन, जिम्मेवारी हेरफेर गरिएको हो : सरकारका प्रवक्ता पोखरेल

आईजीपी कार्कीलाई कारबाही होइन, जिम्मेवारी हेरफेर गरिएको हो : सरकारका प्रवक्ता पोखरेल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउनु कारबाही नभई जिम्मेवारी हेरफेर मात्रै भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। त्यस्तै, रिक्त आईजीपी पदमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गरिएको छ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले कार्कीमाथि कारबाही गरिएको भन्न नमिल्ने जिकिर गरे। ‘उहाँलाई कारबाही होइन, जिम्मेवारी हेरफेर मात्र गरिएको हो,’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आएको निर्देशनका आधारमा कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरिएको पनि पोखरेलले बताए।

‘अब उहाँको भूमिका प्रधानमन्त्रीलाई शान्तिसुरक्षासम्बन्धी सल्लाह दिने हुन्छ,’ उनले भने, ‘धेरै ठाउँबाट र पार्टीबाट पनि संवेदनशील विषयमा सरकारले केही गर्नुपर्‍यो भनेर निर्देशन आएको थियो। सुरक्षा सल्लाहकारका रूपमा उहाँको अहिलेको जिम्मेवारी पनि संवेदनशील हो।’