बाढीपहिरोले गण्डकी र कर्णालीका सडक प्रभावित, बेनी-जोमसोमसहितका सडकमा जोखिम

बाढीपहिरोले गण्डकी र कर्णालीका सडक प्रभावित, बेनी-जोमसोमसहितका सडकमा जोखिम
काठमाडौं । बाढीपहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। केही सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ भने कतिपय स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीमा पहिरो खस्दा बेनी-जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ।

त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका-२, ३ र ४ तथा नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। सोतिगाउँस्थित फलामे पुल बगाउँदा आरुघाटबाट धार्चे जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

गोरखाकै आरुघाट गाउँपालिका-१, नयाँपुलस्थित सडकमा पनि बाढीका कारण यातायात प्रभावित भएको छ। उक्त सडकखण्डमा साना सवारीसाधन मात्र सञ्चालनमा रहेका छन्।

यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका-५, ओइलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।

प्रहरीका अनुसार बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ। प्रभावित सडकखण्डमा यात्रा गर्ने सर्वसाधारणलाई सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।