सुनसान बने काठमाडौंका सडक, दसैँ मनाउन ५ लाख ७६ हजारभन्दा बढी उपत्यकाबाहिर

सुनसान बने काठमाडौंका सडक, दसैँ मनाउन ५ लाख ७६ हजारभन्दा बढी उपत्यकाबाहिर

काठमाडौं । बडादसैँमा काठमाडौं उपत्यकाका सडकमा सवारीसाधनको चाप निकै कम देखिएको छ। दसैँ मनाउन ठूलो संख्यामा सर्वसाधारण उपत्यकाबाट आ-आफ्नो घर फर्किएपछि सडकमा सवारीसाधनको आवागमन न्यून भएको हो।

महानवमीका दिन सवारीसाधनको पूजा गर्ने परम्परा रहेकाले पनि सडकमा सवारीसाधनको संख्या कम देखिएको छ। सामान्य दिनमा व्यस्त रहने काठमाडौं उपत्यकाका सडकमा यस दिन निकै कम सवारीसाधन सञ्चालन भएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म पाँच लाख ७६ हजारभन्दा बढी सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिरिएका छन्।

दसैँ नेपालीहरूको प्रमुख चाड भएकाले यस अवसरमा रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो फर्किने गर्छन्। यही कारण दसैँको समयमा उपत्यकाका सडकमा सवारीसाधनको चाप घट्ने गरेको छ।