

दसैँको मुख्य दिन विजयादशमीदेखि सुरु भएको टीका लगाउने परम्परा कोजाग्रत पूर्णिमासम्म चल्ने भएकाले आज पनि आफन्त तथा मान्यजनकहाँ पुगेर टीका थाप्ने र आशीर्वाद लिनेहरूको चहलपहल रहनेछ।
विशेषगरी दसैँको दिन टाढा रहेका आफन्तकहाँ पुग्न नसकेका व्यक्तिहरूले दोस्रो दिनदेखि कोजाग्रत पूर्णिमासम्म अनुकूल समय मिलाएर टीका लगाउने र आशीर्वाद लिने चलन छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवीको प्रसादका रूपमा ग्रहण गरिने दसैँको टीका कोजाग्रत पूर्णिमासम्म लगाउन सकिन्छ।
कोजाग्रत पूर्णिमाको राति जाग्राम बसेर महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो बडादसैँ पर्व औपचारिक रूपमा समापन हुन्छ। दसैँको टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले परिवार तथा आफन्तबीचको सम्बन्धलाई थप आत्मीय बनाउने धार्मिक तथा सांस्कृतिक विश्वास छ।