

भण्डारीले अक्टोबर २३ देखि २५ सम्म चीनको हेबेई प्रान्तस्थित सियोङआनमा आयोजना हुने ग्लोबल गभर्नेन्स फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
भण्डारीका स्वकीय सचिव राजकुमार राईका अनुसार फोरममा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्न उनी चीन जान लागेकी हुन्।
चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स (सीपीआईएफए) ले आयोजना गर्ने उक्त फोरममा विश्वभरका राजनीतिक, कूटनीतिक, व्यावसायिक तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।
सीपीआईएफएले गत शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार ग्लोबल साउथ, युरोप र अमेरिकालगायत क्षेत्रका करिब १०० देशका प्रतिनिधिले फोरममा सहभागी हुने निश्चित गरिसकेका छन्।
फोरममा बदलिँदो विश्व व्यवस्थाका बीच अन्तर्राष्ट्रिय सहकार्य, विश्वव्यापी शासन प्रणालीमा सुधार, साइबरस्पेस तथा अन्तरिक्षको शासनसँग सम्बन्धित चुनौती र कृत्रिम बुद्धिमत्ता (एआई) को सुरक्षित प्रयोगलगायत विषयमा छलफल हुनेछ।
सक्रिय राजनीतिमा पुनरागमनपछि भण्डारीको पहिलो विदेश भ्रमणका रूपमा रहेको चीन भ्रमणलाई राजनीतिक तथा कूटनीतिक दृष्टिले चासोका साथ हेरिएको छ।