

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज घरेलु टोली ओमानसँग भिड्दा नेपाल जित्नैपर्ने दबाबमा छ। लिग–२ को अन्तिम खेलमा ओमानलाई पराजित गर्न सके नेपालले छैटौँ स्थान हासिल गर्नेछ। पराजित भए नेपाल सातौँ स्थानमै सीमित हुनेछ।
ओमानको अल अमिरात रंगशालामा हुने खेल नेपाली समयअनुसार सोमबार बिहान ११ः१५ बजे सुरु हुनेछ।
नेपालका लागि यो खेल अंकतालिकामा आफ्नो स्थान सुधार गर्ने अन्तिम अवसर हो। नेपाल पराजित भए क्यानडाले शीर्ष ६ मा स्थान सुरक्षित गर्नेछ। नेपालले यसअघि नै एकदिवसीय विश्वकप छनोट खेल्ने अवसर गुमाइसकेको छ। यद्यपि, नेपालले प्लेअफ खेल्नेछ।
लिग–२ को अंकतालिकामा नेपाल ३५ खेलबाट २८ अंक जोड्दै सातौँ स्थानमा छ। यता, ओमान ३१ खेलमा ३३ अंकसहित चौथो स्थानमा छ। ओमानले एकदिवसीय विश्वकप छनोटमा आफ्नो स्थान यसअघि नै पक्का गरिसकेको छ।
नेपालले प्रतियोगिताका सुरुआती दुई खेलमा ओमान र क्यानडालाई पराजित गरेको थियो। तर, पछिल्लो खेलमा क्यानडासँग हार बेहोरेपछि नेपालको छैटौँ स्थानमा उक्लिने सम्भावना अन्तिम खेलको नतिजामा निर्भर बनेको छ।
यता, ओमानले पहिलो खेलमा क्यानडालाई हराएको थियो। त्यसपछि भने ओमान नेपाल र क्यानडासँग पराजित भएको थियो।
यसर्थ, लिग–२ को अन्तिम खेल नेपालका लागि जित निकाल्दै अंकतालिकामा छैटौँ स्थान हासिल गर्ने अवसर हुनेछ भने ओमान घरेलु मैदानमा सुखद नतिजा निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ।