

घटस्थापनादेखि सुनसानप्रायः बनेका राजधानीका मुख्य सडक तथा चोकमा आफन्तकहाँ टीका र आशीर्वाद थाप्न जानेहरूको आवागमन दिउँसोदेखि बाक्लिएको हो। बिहान घरघरमा कुलदेवताको पूजाआराधना गरी टीका लगाएपछि सर्वसाधारण नजिकका नातागोता र आफन्तकहाँ पुग्न थालेका छन्।
दसैँ मनाउन लाखौँ नागरिक उपत्यकाबाट गाउँघर फर्किएपछि केही दिनयता काठमाडौंका सडक सुनसानजस्तै बनेका थिए। तर, विजयादशमीको टीका सुरु भएसँगै चक्रपथसहित भित्री सडकमा समेत निजी तथा सार्वजनिक सवारीसाधनको चाप बढेको छ।
कोटेश्वर, नयाँ बानेश्वर, कलङ्की, चाबहिल र महाराजगञ्जलगायत प्रमुख चोकमा दसैँका नयाँ पहिरनमा सजिएर टीका लगाउन हिँडेका सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ।
यद्यपि, दसैँको मुख्य दिन सार्वजनिक सवारीसाधन न्यून सङ्ख्यामा सञ्चालन हुँदा सर्वसाधारणले आवतजावतमा केही सास्ती व्यहोर्नुपरेको छ। सार्वजनिक यातायातको विकल्पमा ट्याक्सी, निजी कार र मोटरसाइकलको प्रयोग बढेको छ।
यसैबीच, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वका बेला हुन सक्ने दुर्घटना न्यूनीकरण र आवागमन सहज बनाउन विभिन्न रणनीतिक स्थानमा ट्राफिक जाँच तथा जनशक्ति परिचालनलाई तीव्रता दिएको जनाएको छ।
विजयादशमीका दिन सुरु हुने टीका तथा आशीर्वाद ग्रहणको क्रम धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार कोजाग्रत पूर्णिमासम्म जारी रहनेछ। टाढा रहेका मान्यजन र आफन्तकहाँ पुगेर आशीर्वाद लिने चलन कायम रहेकाले आगामी केही दिन उपत्यकाभित्र र विभिन्न जिल्लाबीचको आवागमन थप बढ्ने अनुमान गरिएको छ।