एनपीएलका सबै खेललाई आईसीसीको मान्यता, अक्टोबर २६ देखि प्रतियोगिता

एनपीएलका सबै खेललाई आईसीसीको मान्यता, अक्टोबर २६ देखि प्रतियोगिता
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सम्पूर्ण खेललाई आधिकारिक मान्यता प्रदान गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले बुधबार विज्ञप्ति जारी गर्दै सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुने तेस्रो संस्करणका सबै खेलले आईसीसीको मान्यता पाएको जानकारी दिएका हुन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितालाई सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल) को नाम दिइएको छ।

क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल थ्री) का सम्पूर्ण खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता प्रदान गरेको जानकारी गराउन चाहन्छौँ।’

आईसीसीको मान्यतासँगै प्रतियोगिताका सम्पूर्ण खेलले आधिकारिक लिस्ट ए टी–२० को मान्यता प्राप्त गरेका छन्।

यस मान्यताले एनपीएलका खेललाई आधिकारिक क्रिकेट अभिलेखमा समावेश गर्न महत्त्वपूर्ण आधार प्रदान गर्नेछ। आगामी अक्टोबर २६ देखि सुरु हुने प्रतियोगिता नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ।