ओडीआई मान्यता जोगिएपछि सन्दीप खुसी, आगामी लिग २ मा अझ राम्रो गर्ने प्रतिबद्धता

ओडीआई मान्यता जोगिएपछि सन्दीप खुसी, आगामी लिग २ मा अझ राम्रो गर्ने प्रतिबद्धता
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन सफल भएकोमा खुसी व्यक्त गरेका छन्। उनले आगामी लिग २ चक्रमा अझ राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

मंगलबार साँझ स्वदेश फर्किएका सन्दीपले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले अपेक्षाअनुसार ओडीआई मान्यता जोगाउन सफल भएको बताए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक धारणा आउन बाँकी रहे पनि उनको भनाइअनुसार नेपालले ओडीआई मान्यता कायम राखेको छ।

‘हामी एउटा अपेक्षासहित गएका थियौँ कि ओडीआई मान्यता जोगाउँछौँ भन्ने। त्योअनुसार मान्यता जोगाएका छौँ। छैटौँ स्थान नै हाम्रो लागि माथिसम्म पुग्ने ठाउँ थियो, त्यहाँसम्म पुगेका छौँ,’ सन्दीपले भने।

उनले पछिल्लो तीन–चार महिनादेखि नेपाली क्रिकेटमा बनेको सकारात्मक वातावरणमा टोलीले समग्रमा राम्रो प्रदर्शन गरेको बताए। अहिलेका लागि आगामी चार वर्षसम्म ओडीआई मान्यता जोगाउनु मुख्य चुनौती रहेको उल्लेख गर्दै उनले अर्को लिग २ चक्रमा अझ राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे।

‘हामीले योभन्दा राम्रो गर्न सक्थ्यौँ। तर अहिलेका लागि ओडीआई मान्यता जोगिएको छ र त्यही महत्त्वपूर्ण हो। आगामी लिग २ चक्रमा अझै राम्रो गर्नेछौँ,’ उनले भने।

ओमान र क्यानडासँगको शृङ्खलाबारे प्रतिक्रिया दिँदै सन्दीपले ब्याटिङका लागि विकेट राम्रो रहेको र बलरहरूले योजनाअनुसार प्रदर्शन गरेको बताए। ब्याटरहरूले पनि राम्रो आधार तयार पारेको उल्लेख गर्दै उनले कप्तान र खेलाडीका रूपमा आफू सन्तुष्ट रहेको बताए।

उक्त शृङ्खलामा नेपालले चारमध्ये तीन खेल जितेको थियो। ओमानलाई दुवै खेलमा पराजित गरेको नेपालले क्यानडासँग एक खेल जित्दा अर्को खेलमा हार बेहोरेको थियो।

लिग २ का सबै ३६ खेल पूरा गर्दा नेपालले ३० अंक जोड्दै छैटौँ स्थान हासिल गरेको थियो। यही स्थान नेपालका लागि ओडीआई मान्यता जोगाउने दिशामा महत्त्वपूर्ण बनेको हो।

लिग २ पछि अब विश्वकप छनोटको प्लेअफ नेपालमा हुने सम्भावनाबारे बोल्दै सन्दीपले घरेलु मैदानमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्दै आएको बताए। प्लेअफमा राम्रो नतिजा निकाल्न खेलाडीको फिटनेस र प्राविधिक पक्षमा विशेष ध्यान दिँदै तयारी गर्नुपर्ने उनको भनाइ छ।