महानवमीमा तलेजु भवानीको मन्दिर बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म खुला

महानवमीमा तलेजु भवानीको मन्दिर बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म खुला

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको ऐतिहासिक तलेजु भवानीको मन्दिर आज महानवमीका अवसरमा बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएको छ। वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने यस मन्दिरमा दर्शन तथा पूजाआराधनाका लागि हजारौँ भक्तजन पुग्ने गर्छन्।

हनुमानढोका दरबार हेरचाह अड्डाले सम्बन्धित निकायसँग गरेको छलफलका क्रममा भक्तजनका लागि बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म मन्दिर खुला गर्ने निर्णय भएको अड्डाकी कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानले जानकारी दिइन्।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिर धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ। यस दिन भक्तजनले तलेजु भवानीको दर्शन गरी पूजाआराधना गर्ने र सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको साइतअनुसार असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे तलेजु भवानीलाई हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो। सोही दिन बिहान १०ः३९ बजेको साइतमा देवीलाई मूलचोकमा स्थिरासन गराइएको थियो।

महाअष्टमीको राति मूलचोकमै तलेजु भवानीको कालरात्रि पूजा गरिँदैछ। हनुमानढोका दरबार हेरचाह अड्डाका अनुसार कालरात्रि पूजाका अवसरमा ५४ बोका र ५४ राँगाको बलिसहित विशेष आराधना गरिनेछ।

विजयादशमीसम्म तलेजु भवानीलाई मूलचोकमै राखेर विधिपूर्वक पूजाआराधना गरिनेछ। कात्तिक ४ गते बुधबार विजयादशमीका दिन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः५१ बजे देवीको यात्रा गराइने कार्यक्रम छ। त्यसै दिन बिहान ११ः५२ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइनेछ।

वर्षमा एक दिन मात्र सर्वसाधारणका लागि खुल्ने तलेजु भवानीको मन्दिरमा महानवमीका अवसरमा हुने दर्शनले काठमाडौँको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक परम्परालाई थप जीवन्त बनाउने गरेको छ।