

काठमाडौं । संसदीय सुनुवाइ समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ। बुधबार बसेको समितिको बैठकले सुनारमाथि परेका महिला हिंसासम्बन्धी उजुरी र उनको नैतिक आचरणमाथि उठेका प्रश्नलाई ध्यानमा राख्दै नाम अनुमोदन नगर्ने निर्णय गरेको हो।
सरकारले गत असोज २ गते सुनारलाई साउदी अरेबियाका लागि राजदूतमा सिफारिस गरेको थियो। उनीविरुद्ध महिला हिंसा, धम्की तथा पूर्वप्रेम सम्बन्धमा रहेकी महिलालाई दुःख दिएको आरोपसहित दुईवटा उजुरी परेको थियो।
संसदीय सुनुवाइका क्रममा सांसदहरूले सुनारको नैतिक चरित्र र राजदूत पदका लागि उनको उपयुक्ततामाथि प्रश्न उठाएका थिए। सांसद वर्षमान पुनले उनलाई आफ्नो नाम फिर्ता लिन सुझाव दिएका थिए। त्यस्तै, एमाले सांसद पद्मा अर्याल, प्रेम दंगाल, पुनम अग्रवाल र दीपक बोहरालगायतले उनीमाथि उठेका प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सुनारको प्रस्तुति, कागजात र योग्यता राम्रो देखिए पनि विगतको घटनाका कारण उनको नैतिक चरित्रमाथि प्रश्न उठेको बताएका थिए। राजदूतजस्तो प्रतिष्ठित पदमा विवाद नहोस् भन्ने उद्देश्यले उनको नाम अस्वीकृत गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो।
सुनारले भने आफूमाथि लागेको महिला हिंसाको आरोप अस्वीकार गरेका थिए। सम्बन्धित महिलासँग १३ वर्षअघि प्रेम सम्बन्ध रहेको र पछि सम्बन्ध बिग्रिएपछि फोनमा भनाभन भएको उनले बताएका थिए।
जर्मनीमा अनुवादकका रूपमा जाँदा भिसाको अवधि नाघेर बसेपछि आफूलाई देश निकाला गरिएको भन्ने आरोप पनि सुनारले अस्वीकार गरेका थिए।
आफूले कुनै हिंसा नगरेको दाबी गर्दै उनले राजदूत पदका लागि सिफारिस भएको नाम फिर्ता नलिने अडान राखेका थिए। तर, संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मतिले अस्वीकृत गरेपछि साउदी अरेबियाका लागि राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्न सकेन।