

काठमाडौं । लोक तथा दोहोरी गायिका रीता थापामगर नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा थापामगर खुला महिलातर्फ २ हजार ३०८ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।
खुला महिलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। निर्वाचित भएपछि थापामगरले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी व्यक्त गर्दै आफूलाई साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।
उनले लेखेकी छन्, ‘यो निर्वाचन मेरा लागि पद प्राप्तिको विषय मात्र होइन, लामो समयदेखि नेपाली कांग्रेसप्रति राख्दै आएको आस्था, राजनीतिक प्रतिबद्धता, सामाजिक उत्तरदायित्व र नेपाली कला, संस्कृति तथा लोकसङ्गीतको क्षेत्रमा गरेको यात्राको एउटा महत्त्वपूर्ण उपलब्धि पनि हो।’
दुई दशकभन्दा लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय थापामगर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्षसमेत हुन्।