

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ। पछिल्लो चार दिनमा सुनको भाउ प्रतितोला ८ हजार १०० रुपैयाँले घटेको छ। बिहीबार पनि सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ घटेर २ लाख ८८ हजार ४०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेर २ लाख ८९ हजार ५०० रुपैयाँ कायम भएको थियो। यसअघि सोमबार सुनको भाउ तोलामा २ हजार १०० रुपैयाँ र मंगलबार २ हजार २०० रुपैयाँले घटेको थियो। लगातार चार दिनको गिरावटसँगै सुनको मूल्यमा प्रतितोला ८ हजार १०० रुपैयाँको कमी आएको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार चाँदीको भाउ प्रतितोला २२० रुपैयाँ घटेर ४ हजार ३५ रुपैयाँ कायम भएको छ। नेपाली बजारमा सुनको मूल्य गत माघ १५ गते हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। उक्त दिन सुनको भाउ प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि गत माघ १५ गते प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य हो। यसअघि गत माघ १८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ५६५ रुपैयाँले घटेको थियो। उक्त गिरावट चाँदीको मूल्यमा आएको हालसम्मकै ठूलो एकदिने गिरावटका रूपमा रहेको छ।