डोलेश्वर भिलेज रिसोर्टले ३० प्रतिशत आईपीओ निकाल्दै, १६ लाख २० हजार कित्ता शेयर निष्कासनको तयारी

डोलेश्वर भिलेज रिसोर्टले ३० प्रतिशत आईपीओ निकाल्दै, १६ लाख २० हजार कित्ता शेयर निष्कासनको तयारी

भक्तपुर । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आफ्नो जारी पुँजीको ३० प्रतिशत साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीको ११औँ वार्षिक साधारणसभाले १६ लाख २० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्ताव अघि बढाएको हो।

सूर्यविनायक नगरपालिका-८, सिपाडोलस्थित रिसोर्टको सभाहलमा सम्पन्न साधारणसभामा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिइसकेको जानकारी गराएको छ।

सभालाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले डोलेश्वर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई व्यवस्थित रूपमा विकास गर्न रिसोर्टको भूमिका महत्वपूर्ण रहेको बताए।

साधारणसभाले रामनाथ मैनाली, बुद्धिप्रसाद पोखरेल, डोरबहादुर भण्डारी, सृष्टि पोखरेल, छविलाल लुइँटेल र ध्रुवराज पोख्रेललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ। निर्वाचित सञ्चालक समितिको पहिलो बैठकले रामनाथ मैनालीलाई अध्यक्ष र टिकाध्वज भण्डारीलाई स्वतन्त्र सञ्चालकमा चयन गरेको छ।

२०७२ सालदेखि सञ्चालनमा रहेको रिसोर्टले आईपीओबाट प्राप्त पुँजीलाई व्यवसाय विस्तार तथा पूर्वाधार विकासमा परिचालन गर्ने योजना बनाएको छ। कम्पनीले रिसोर्टलाई चारतारे स्तरमा स्तरोन्नति गर्दै थप आवासीय कोठा, स्विमिङ पुल, स्पा, ज्याकुजी, सेमिनार हल तथा मनोरञ्जन क्षेत्र विस्तार गर्ने लक्ष्य लिएको छ।

कम्पनीका अनुसार पर्यटन व्यवसायसँगै कृषि, ऊर्जा, उद्योग, पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा अन्य उत्पादनशील क्षेत्रमा समेत लगानी विस्तार गरिनेछ। यसबाट कम्पनीको व्यावसायिक दायरा फराकिलो बनाउँदै शेयरधनीलाई उचित प्रतिफल दिने लक्ष्य राखिएको छ।