

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमा जुटिसकेको बताएका छन्।
राष्ट्रिय समाचार समिति (रासस)को प्रतिनिधिमण्डलसँग बिहीबार निर्वाचन आयोगमा भएको अनौपचारिक छलफलमा कार्कीले आयोग सधैँ निर्वाचनको तयारीमा रहने र सरकारले घोषणा गरेको मितिमा निष्पक्ष तथा विवादरहित निर्वाचन सम्पन्न गराउने दायित्व आयोगको रहेको बताए।
‘हामी आगामी निर्वाचनको तयारीमै छौँ, त्यसो त आयोग सदैव निर्वाचनको तयारीमा रहन्छ नै,’ उनले भने, ‘निर्वाचनको मिति सरकारले तोक्ने हो। तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढंगबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो। त्यसमा हामी प्रतिबद्ध छौँ।’
सरकारले आगामी स्थानीय तहको निर्वाचन फागुनमै गर्ने गरी तयारी अघि बढाएको समाचार सार्वजनिक भएको विषयमा कार्कीले अहिले नै निर्वाचनको मितिबारे आयोगले केही भन्न नसक्ने स्पष्ट गरे।
उनका अनुसार संवैधानिक व्यवस्थाअनुसार आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ। तर स्थानीय तह लामो समयसम्म जनप्रतिनिधिविहीन अवस्थामा राख्न नहुने पक्षमा आयोग रहेको उनले बताए।
‘मितिका बारेमा अहिले नै आयोगले भन्ने कुरा भएन। संवैधानिक प्रावधानअनुसार आयोगसमेतको परामर्शमा सरकारले मिति घोषणा गर्ने हो,’ उनले भने, ‘तर लामो समयसम्म स्थानीय तह खाली राख्नुहुन्न भन्ने पक्षमा छौँ। त्यसैअनुसार हाम्रो तयारी पनि भइरहेको छ।’
आगामी वैशाखमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले त्यसको आसपास र संवैधानिक व्यवस्थाअनुसार नै निर्वाचन हुने उनले बताए।
स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्ने गरी आयोगले तयारी थालेको हो कि भन्ने प्रश्नमा प्रमुख निर्वाचन आयुक्त कार्कीले संवैधानिक र कानुनी व्यवस्थाअनुसार निर्वाचन हुने बताए। आवश्यकता र परिस्थितिका आधारमा निर्णय हुने भएकाले अहिले नै दुवै निर्वाचन एकैसाथ हुने भन्न नसकिने उनको भनाइ छ।
‘हाम्रो संवैधानिक संरचना र कानुनी प्रावधानअनुरुप नै निर्वाचन हुने हो। त्यसमा हाम्रो आवश्यकताको पनि कुरा छ। त्यसैले अहिले नै चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैन,’ उनले भने, ‘सरकारले मिति घोषणा गरेअनुसार नै हामीले काम गर्ने हो।’
यसैबीच, प्रमुख निर्वाचन आयुक्त कार्कीले विगतका निर्वाचनमा सकारात्मक र निर्वाचनमैत्री वातावरण निर्माण गर्न राससले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए। आगामी दिनमा पनि रासससँग सहकार्य गर्न आयोग तयार रहेको उनले स्पष्ट गरे।
छलफलमा आयोग र राससबिचको सम्बन्ध, आगामी सहकार्य तथा समसामयिक विषयमा कुराकानी भएको थियो। कार्यक्रममा निर्वाचन आयुक्त सगुन शमशेर जबरा र गुरुप्रसाद वाग्ले पनि सहभागी थिए।