‘पदको लोभ छैन, तर कांग्रेस जोगाउन अन्तिम क्षणसम्म जिम्मेवारी लिन्छु’ : देउवा

‘पदको लोभ छैन, तर कांग्रेस जोगाउन अन्तिम क्षणसम्म जिम्मेवारी लिन्छु’ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई कुनै पद वा जिम्मेवारीको लोभ नभए पनि पार्टी र राष्ट्रले आफ्नो अनुभव आवश्यक ठाने जीवनको अन्तिम क्षणसम्म जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएका छन्।

कांग्रेसभित्र १५औँ महाधिवेशनको विषयमा विवाद बढिरहेका बेला देउवाले विज्ञप्ति जारी गर्दै पार्टीको एकता, विधि र संस्थागत परम्परा जोगाउनुपर्नेमा जोड दिएका हुन्।

देउवाले देशभरका महाधिवेशन प्रतिनिधिबाट निर्वाचित १४औँ महाधिवेशनका सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको बताएका छन्।

‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन। अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन। तर राज्य र नेपाली कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न म पछि हट्ने छैन,’ देउवाले भनेका छन्।

उनले पार्टीभित्र सहमति नगरी ‘विशेष महाधिवेशन’को नाममा अघि बढ्नुले कांग्रेसलाई कमजोर र विभाजित बनाउने दाबी गरेका छन्। सर्वोच्च अदालतमा विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय विचाराधीन रहेकाले अन्तिम फैसला नआउँदै नयाँ महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान र कानुनी सिद्धान्तअनुकूल नहुने उनको भनाइ छ।

देउवाले विगतमा कांग्रेसले जटिल समस्या एकता, सहमति र सहकार्यबाट समाधान गर्दै आएको उल्लेख गर्दै अहिले पनि संवाद र सहमतिबाट निकास खोज्न आग्रह गरेका छन्।

उनले आफूले विगतमा भएका विवादलाई नबिर्सिए पनि पार्टीलाई कमजोर पार्ने गतिविधि हुँदा मौन बस्न नसक्ने स्पष्ट पारेका छन्।

‘नेपाली कांग्रेसको विधान र नेपालको संविधानबमोजिम महाधिवेशन गर्ने पर्याप्त समय हुँदाहुँदै सहमतिबिना हतारमा कथित विशेष महाधिवेशन पक्षधरहरूले पार्टीलाई कमजोर गर्ने गरी अधिवेशन गरेमा म मुकदर्शक भएर बस्न सक्ने छैन,’ देउवाले भनेका छन्।

देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई कथित विशेष महाधिवेशनबाट अघि बढाइएको प्रक्रियामा सहभागी नहुनसमेत आग्रह गरेका छन्।

यसैबीच, उनले देश भोटेकोशी बाढीको गम्भीर विपद्मा रहेकाले अहिले राजनीतिक विवादभन्दा खोज, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना र बेपत्ताको खोजीलाई तीव्रता दिन आग्रह गरेका छन्।

देउवाले २०७२ सालको भूकम्प र कोभिड–१९ महामारीका बेला राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यमसहित सबै पक्ष एकजुट भएर संकट सामना गरेको स्मरण गर्दै भोटेकोशी विपद्को पुनःस्थापना र पुनर्निर्माणमा पनि राष्ट्रिय एकता आवश्यक रहेको बताए।

उनले विगत तीन दशकमा नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संसाधन विकास तथा गरिबी न्यूनीकरणमा हासिल गरेको प्रगतिलाई वस्तुगत रूपमा मूल्यांकन गर्नुपर्ने बताए। उपलब्धिमा सन्तुष्ट भएर बस्ने अवस्था भने नरहेको भन्दै सुशासन, रोजगारी, आर्थिक समृद्धि र नागरिकको राज्यप्रतिको विश्वास बढाउन नयाँ सोच र ऊर्जासहित अघि बढ्नुपर्ने उनको धारणा छ।

देउवाले अन्ततः कांग्रेसका सबै नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई पार्टीभित्रको मतभेद अन्त्य गर्दै मंसिर २१ देखि २३ गतेसम्म हुने १५औँ महाधिवेशनको तयारीमा एकताबद्ध भएर जुट्न आग्रह गरेका छन्।