नेपालमा लगानीका प्रशस्त अवसर छन्, नकारात्मक भाष्य तोड्नुपर्छ : चन्द्रप्रसाद ढकाल

नेपालमा लगानीका प्रशस्त अवसर छन्, नकारात्मक भाष्य तोड्नुपर्छ : चन्द्रप्रसाद ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष चन्द्रप्रसाद ढकाल ले नेपालमा लगानीको अवसर छैन भन्ने धारणा गलत भएको बताएका छन्।

उनले नेपालमा ‘अवसर नै अवसर’ रहेको उल्लेख गर्दै यहाँ केही हुँदैन, लगानी पाइँदैन भन्ने सोचसँग आफू सहमत नरहेको बताए। यस्ता नकारात्मक भाष्य तोड्न महासंघले पहल गरिरहेको उनको भनाइ छ।

ढकालका अनुसार यही उद्देश्यका साथ १० अर्ब रुपैयाँ पूँजीको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरिएको छ। उक्त कम्पनीले स्वदेश तथा विदेशमा रहेका नेपालीबाट स–सानो लगानी संकलन गरी ठूला पूर्वाधार, उत्पादनमूलक उद्योग र स्टार्टअपमा लगानी गरिरहेको उनले जानकारी दिए।

महासंघले महिला उद्यमी, युवा तथा स्टार्टअप, साना र मझौला उद्यमलाई सहयोग गर्न विभिन्न इकाइहरू गठन गर्दै लगेको उनले बताए। देशभर महिला उद्यमीको सहभागिता बढ्दै गएको र स्टार्टअप क्षेत्रमा पनि महासंघले ‘स्टार्टअप फोरम’मार्फत सहयोग गर्दै आएको उनको भनाइ छ।

उनले स्टार्टअप नीतिको निर्माणमा पनि महासंघले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। साथै, वैदेशिक लगानी भित्र्याउन विभिन्न देशका व्यवसायीसँग संवाद र सहकार्य तीव्र बनाइएको उनले बताए।

ढकालले रोजगारी सिर्जनालाई निजी क्षेत्रको मुख्य प्राथमिकता रहेको स्पष्ट पार्दै युवालाई स्वदेशमै रोजगारी दिन आवश्यक सीप र जनशक्ति विकासमा जोड दिएका छन्। त्यसका लागि बजारको मागअनुसार पाठ्यक्रम निर्माण गर्न सरकारसँग सहकार्य भइरहेको उनले बताए।

निजी क्षेत्र अर्थतन्त्रको प्रमुख चालक भएको उल्लेख गर्दै उनले व्यवसायिक वातावरण सुधार गर्न सरकारको भूमिका महत्वपूर्ण हुने बताए। यससम्बन्धी अवधारणापत्र सरकारलाई बुझाइएको र नयाँ सरकारले त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको उनले जानकारी दिए।