

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाल विद्यार्थी संघ (नेवि संघ) बाट राजनीतिक यात्रा सुरु गरेका नेताहरूको पदाधिकारीमा बलियो उपस्थिति देखिएको छ।विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा आएका नेताहरू अहिले पार्टीको शीर्ष नेतृत्वका लागि प्रतिस्पर्धामा छन्।
कांग्रेसको कार्यकर्ता उत्पादन गर्ने ‘नर्सरी’ मानिने नेवि संघका पूर्वमहामन्त्री एवं उपाध्यक्ष गगनकुमार थापा सभापति बन्ने निश्चित भएसँगै नेवि संघका पूर्वअध्यक्ष तथा पदाधिकारीहरू पनि पार्टीका महत्वपूर्ण जिम्मेवारीका लागि प्रतिस्पर्धामा उत्रिएका हुन्।
महाधिवेशन निर्वाचन समितिका अनुसार नेवि संघका पूर्वअध्यक्ष विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा सर्वसम्मत चयन भएका छन्। सभापतिमा उम्मेदवारी दिएका नेवि संघकै पूर्वअध्यक्ष किशोरसिंह राठौरले गगनकुमार थापालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन्।
उपसभापति पदमा पनि नेवि संघ पृष्ठभूमिका नेताहरूको प्रतिस्पर्धा छ। पूर्वअध्यक्ष धनराज गुरुङ, गोविन्द भट्टराई र रञ्जीत कर्ण उपसभापतिको दौडमा छन्। गुरुङ र भट्टराई खुलातर्फ प्रतिस्पर्धामा छन् भने कर्ण समावेशीतर्फबाट उम्मेदवार बनेका छन्।
कर्णले नेवि संघको करिब दुई दशकदेखि हुन नसकेको महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गरेका थिए। विद्यार्थी राजनीतिबाट उदाएका कर्ण सभापति थापाका समकालीनसमेत हुन्। पार्टीभित्र शालीन र समन्वयकारी नेताका रूपमा परिचित कर्णले आफूले विद्यार्थी राजनीतिबाट सिकेको अनुभवलाई पार्टी रूपान्तरणमा प्रयोग गर्ने बताउँदै आएका छन्।
महामन्त्री पदमा पनि नेवि संघका पूर्वअध्यक्षहरूको प्रतिस्पर्धा छ। पूर्वअध्यक्ष गुरुराज घिमिरे, प्रदीप पौडेल र नैनसिंह महर महामन्त्री पदका उम्मेदवार छन्। विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्री बनेका घिमिरे र पौडेल वैचारिक स्पष्टता र बौद्धिकताका लागि परिचित छन्।
त्यस्तै, नेवि संघका पूर्वअध्यक्ष राजीव ढुंगाना सहमहामन्त्री पदको प्रतिस्पर्धामा छन्। विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा आएका उनीसहित नेवि संघ र नेपाल तरुण दलको पृष्ठभूमि भएका थुप्रै नेता पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको प्रतिस्पर्धामा छन्।
सभापति बन्ने तयारीमा रहेका थापाले विद्यार्थी राजनीतिबाटै संघर्ष गर्दै आएका अनुभवी नेताहरूलाई आफ्नो टिममा समेट्ने मनस्थिति बनाएको कांग्रेस नेताहरू बताउँछन्। नेवि संघमा नेतृत्व र पदाधिकारीका रूपमा काम गरेका नेताहरूको अनुभवले पार्टी सञ्चालनमा सहयोग पुग्ने उनको बुझाइ रहे पनि थापाले यसबारे औपचारिक रूपमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।
उपसभापतिका उम्मेदवार रञ्जीत कर्णले विद्यार्थी र तरुण राजनीतिबाट उदाएका नेताहरूको टिमले कांग्रेसको नयाँ कार्यदिशा निर्माण गर्न सक्ने बताए।
‘जतिबेला देशमा प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रका लागि आवाज उठ्न थाल्यो, आन्दोलनहरू भए, त्यतिबेला हाम्रो पुस्ताका विद्यार्थी सडकमा थियौँ। परिवर्तनका लागि भएका राजनीतिक आन्दोलनका सिपाहीहरू अहिले पार्टीको नेतृत्व, पदाधिकारी र केन्द्रीय सदस्यका रूपमा आउँदै हुनुहुन्छ,’ कर्णले भने, ‘नेपाली कांग्रेसलाई बदल्ने अठोटका साथ हामी अघि बढ्छौँ।’
नेवि संघका पूर्वअध्यक्ष राजीव ढुंगानाले पनि विद्यार्थी राजनीतिबाट उदाएका अग्रज र समकालीन नेताबीचको समन्वयले कांग्रेसलाई नयाँ मार्गचित्रसहित अघि बढाउन सक्ने बताए। ‘राजनीतिक आन्दोलन सहज हुँदैन। विद्यार्थी हुँदै पार्टीको मूल प्रवाहमा आएका नेता–कार्यकर्ताले विधिपूर्वक पार्टी सञ्चालन गर्ने क्षमता राख्छन्,’ ढुंगानाले भने।
कांग्रेसको १५औँ महाधिवेशनमा नेवि संघ र तरुण दलको पृष्ठभूमिबाट आएका नेताहरूको बाक्लो उपस्थितिले विद्यार्थी राजनीतिबाट सुरु भएको पुस्ता अब पार्टीको निर्णायक नेतृत्व तहमा स्थापित हुने संकेत गरेको छ।