

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। थापाले मंगलबार साँझ राष्ट्रिय सभागृह पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले केन्द्रीय कार्यसमितिमा सदस्य संख्या बढाउँदा खुला प्रतिस्पर्धाबाट आउने प्रतिनिधित्व बढी हुन सक्ने र त्यसबाट दलित, मधेसीलगायत विभिन्न समुदाय तथा जातीय समूहको प्रतिनिधित्व प्रभावित हुन सक्ने अवस्थालाई ध्यान दिइएको बताए।
उनले विशेष महाधिवेशनबाट आएका तथा अन्य सबै नेताले पार्टीभित्र समान अवसरको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले उपसभापति तथा महामन्त्रीको संख्यामा केही समायोजन गरिएको बताए।
खस–आर्यबाहेकका अन्य समुदाय तथा महिलाको नेतृत्व तहमा पहुँच बढाउन सहमहामन्त्रीपछिको ‘ब्लक’ खुला गर्ने प्रयास गरिएको पनि थापाले बताए। सबैलाई समेटेर अघि बढ्ने र पार्टीभित्र सबैका लागि राजनीतिक स्पेस सिर्जना गर्ने जिम्मेवारी आफ्नो भएको उनको भनाइ थियो।
‘सबैलाई मिलाएर लैजाने र स्पेस बनाउने जिम्मेवारी मेरो हो। सबैजना पदाधिकारीमै भिड्नुपर्छ भन्ने हुँदैन,’ उनले भने।
थापाले यसपटक संशोधन गरिएको विधानले प्रदेश र जिल्ला तहलाई यसअघिभन्दा बढी अधिकारसम्पन्न बनाएको बताए। यसले पार्टीको तल्लो तहमा समेत काम गर्ने र नेतृत्व विकास गर्ने ठूलो सम्भावना सिर्जना गरेको उनको भनाइ थियो।
पार्टीभित्र हुने निर्वाचनमा जित–हारलाई स्वाभाविक रूपमा लिएर आपसी हार्दिकता कायम राख्नुपर्नेमा पनि उनले जोड दिए। निर्वाचन परिणामपछि पनि पार्टीभित्र सहकार्य र एकता कायम राख्नुपर्ने उनको धारणा थियो।
थापाले यसपटक महामन्त्रीहरूको कार्यविभाजन विधानमै स्पष्ट गरिएको भन्दै केन्द्रीय कार्यसमिति ठूलो भए पनि व्यवस्थित ढङ्गले सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरे। थापा गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएका थिए। १५औँ महाधिवेशनमा उनले पूर्ण कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दिएका हुन्।