गोप्य सूचना दुरुपयोग गर्नेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

गोप्य सूचना दुरुपयोग गर्नेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत रूपमा चुहाउने जोसुकैलाई कानुनी दायरामा ल्याइने बताएका छन् । गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय मर्यादा र जिम्मेवारी बिर्सेर गोप्य सूचना अनधिकृत व्यक्ति वा निकायलाई उपलब्ध गराउने प्रवृत्तिप्रति सरकार कठोर रूपमा प्रस्तुत हुने उनले बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले आफूले लामो समयदेखि सूचना चुहाउने प्रवृत्तिलाई नियालिरहेको बताएका छन् ।

गृह मन्त्रालयले सोमबार सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सूचना चुहाएको आरोपमा निलम्बन गरेको थियो । दाहालमाथि छानबिनका लागि सशस्त्र प्रहरीकै मानव स्रोत विभागमा कार्यरत एआईजी अन्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकिएको छ ।

गृहमन्त्री गुरुङले राज्यका संवेदनशील सूचना व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्ने विषय नभएको बताएका छन् । ‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो,’ उनले भनेका छन्, ‘पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन।’

उनका अनुसार राज्य संयन्त्रबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गोप्य जानकारीले अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयताको जानाजान दुरुपयोग गर्ने व्यक्ति वा अधिकारीलाई कुनै किसिमको उन्मुक्ति नदिइने चेतावनी दिएका छन् । ‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।