

काठमाडौँ । सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो । रातो साडी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको चहलपहलसँगै तीजका गीत र दर खाने कार्यक्रमले घर–आँगनदेखि बजारसम्म उत्सवको माहोल बनाउँथ्यो ।
तर यसपटकको तीजको माहोल फरक छ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि विशेषगरी रसुवा, नुवाकोट र धादिङका प्रभावित परिवार शोक, विस्थापन र आफन्तको खोजीमा छन् ।
आज दर खाने दिन भए पनि बाढी प्रभावित परिवारका लागि चाडपर्वभन्दा हराइरहेका आफन्तको खोजी, सुरक्षित बसोबास, खाद्यान्न र उपचार मुख्य प्राथमिकता बनेको छ । कतिपय परिवारका घरबास बगेका छन् भने कतिपयले आफन्त र रोजगारी गुमाएका छन् ।
बाढीबाट विस्थापित सयौँ नागरिक अस्थायी शिविरमा बसिरहेका छन् । उनीहरूका लागि तीजको उत्सवभन्दा दैनिक जीवनलाई सामान्य बनाउने चुनौती ठूलो बनेको छ । ज्यान जोगाएर फर्किएका महिलाको मनमा पनि बाढीको त्रास र गुमाएका आफन्तको पीडा अझै ताजा छ ।
काठमाडौँ उपत्यकामा तीजको सामान्य चहलपहल देखिए पनि विगतको जस्तो उत्साह भने छैन । कतिपय महिलाले सामान्य रूपमा रातो पहिरन र चुरा लगाए पनि मनमा बाढीपीडित परिवारको दुःख र हराइरहेका आफन्तको सम्झना छ ।
‘चाड त आयो, तर मनमा खुसी छैन,’ गोङ्गबुकी राधा खत्रीको भनाइले यसपटकको तीजको पीडा झल्काउँछ ।
तीज भेटघाट, आत्मीयता र सुख–दुःख साट्ने पर्व पनि भएकाले यसपटक विपत्तिमा परेका परिवारप्रति सहानुभूति र साथ आवश्यक देखिएको छ । बाढीपीडितका लागि आफ्ना परिवार सुरक्षित हुनु र हराइरहेकाहरू सकुशल भेटिनु नै यस वर्षको सबैभन्दा ठूलो खुसी बनेको छ ।
यसपटकको तीजले विपत्तिमा परेका परिवारलाई एक्लो नछाड्न, उनीहरूको पीडामा साथ दिन र पुनःस्थापनाका लागि हातेमालो गर्नुपर्ने सन्देश दिएको छ ।