मिडियामा एआईको प्रयोगमाथि पत्रकारिताका नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण

मिडियामा एआईको प्रयोगमाथि पत्रकारिताका नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पाँच जना विद्यार्थीले चीनको सिचुआनमा एआई तथा डिजिटल सञ्चार सम्बन्धि साताव्यापी अध्ययन भ्रमण पूरा गरेका छन् ।

त्रिविको पत्रकारिता केन्द्रीय विभाग र युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना ९यूईएसटीसी० बीचको शैक्षिक सहकार्य अन्तर्गत आयोजित कार्यक्रममा नेपाली विद्यार्थीले एआईलाई समाचार कक्षको दैनिक कार्य प्रवाहमा कसरी प्रयोग गर्ने, डिजिटल सामग्री उत्पादन तथा दृश्य कथा वाचन, मिथ्या सूचना पहिचान र व्यवस्थापन लगायतका विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान लिएका हुन् ।

नेपाल चीन सम्बन्धले ७१ वर्ष पूरा गरिसकेको छ। मैत्रीपूर्ण सम्बन्धलाई सरकारदेखि सरकारमात्र नभइ जनस्तरसम्म जोड्न विभिन्न गतिविधि हुँदै आएको छ। त्यसअन्तर्गत आगामी दिनमा पनि प्राज्ञिक क्षेत्रमा सहकार्य जारी रहने यूईएसटीसीका प्राध्यापक चाङ स्युनले जानकारी दिइन्।

कार्यक्रममा केन्द्रीय विभागका अनुषा काफ्ले, दीक्षा राई, मोनिका वाइबा, लक्ष्मण गिरी र प्रियंका सुनार सहभागी थिए । नेपाली टोलीको नेतृत्व केन्द्रीय विभागका उपप्राध्यापक डा। ऋषिकेश दाहालले गरेका थिए।

नेपाल चीनबीच प्राज्ञिक सहकार्यले आगामी दिनमा पनि निरन्तरता पाउने केन्द्रीय विभागका डा। दाहालले जानकारी दिए। ‘यसखाले प्राज्ञिक सहकार्यले सञ्चारमा भएका आयामिक परिवर्तनबारे बुझ्न सघाउँछ,’ दाहालले भने, ‘चीन र नेपालको मिडिया प्रविधिमा ठूलो डिजिटल डिभाइड छ। डिजिटल क्षमता अभिवृद्धिका लागि आगामी दिनमा पत्रकारिता र सञ्चारको अध्ययन गरिरहेका थप नेपाली विद्यार्थीहरू चीनमा अध्ययनका लागि जानेछन्।’

भ्रमणमा त्रिविबाट ७ जना सहभागी थिए भने पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका दुईरदुई जनाको सहभागिता थियो। काठमाडौं विश्वविद्यालयबाट एकजनाले कार्यक्रममा सहभागिता जनाएका थिए । लुम्बिनी बौद्ध विश्वविद्यालयबाट सर्मिला गोर्खाली र इसराफिल गदी, पोखरा विश्वविद्यालयबाट श्रृष्टि खड्का र अमृत बगाले सहभागी थिए भने काठमाडौं विश्वविद्यालयबाट शिव थापा मगर सहभागी थिए।

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा डा कुन्दन अर्यालले यूईएसटीसीसँगको सहकार्यले निरन्तरता पाइरहँदा आगामी वर्षहरूमा थप विद्यार्थीले अवसर पाउने बताए। डा अर्याल गत वर्ष यूईएसटीसीमा अन्तर्सांस्कृतिक सञ्चार विषयको भिजिटिङ प्रोफेसरका रुपमा अध्यापन गराउन गएका थिए। प्राध्यापक डा चाङ पनि केन्द्रीय विभागमा भिजिटिङ प्रोफेसरका रुपमा अध्यापनमा सहभागी हुँदै आएकी छिन्।

एआईदेखि मानव-मेसिन सहकार्यसम्म
एक साताको कार्यक्रममा एआई र सञ्चार प्रविधिसँग सम्बन्धित विभिन्न विषयमा विषयगत छलफल गरिएको थियो । सहभागीले समाचार कक्षमा एआई उपकरणको प्रयोग, मानव–मेसिन सहकार्यमा समाचार उत्पादन, एआई युगमा मिथ्या तथा भ्रामक सूचनाको व्यवस्थापन, एआईबाट ग्रामीण विकासमा सञ्चारको भूमिका तथा डिजिटल खेल उद्योग तथा त्यसको सामाजिक, सांस्कृति मूल्यबारे अध्ययन गरेका थिए।

त्यस्तै, एआईबाट माइक्रो ड्रामा निर्माण तथा एआई जेनेरेटिभ कन्टेन्ट ९एआईजीसी० का आधारभूत पक्षमा प्रशिक्षण दिइएको थियो । आधुनिक सञ्चार प्रविधिको प्रयोगबाट समाचार तथा अन्य डिजिटल सामग्रीलाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा व्यावहारिक जानकारी लिएको सहभागीहरुले जनाएका छन् । त्यस्तै सहभागीलाई चीनको प्रविधि, सञ्चार र सिर्जनात्मक उद्योगसँग जोडिएका विभिन्न संस्थाको स्थलगत अवलोकन समेत गराइएको थियो ।

सञ्चार संस्थादेखि सुपर कम्प्युटिङ केन्द्रसम्म
अध्ययन भ्रमणका क्रममा नेपाली विद्यार्थीले छेंग्दुस्थित विशाल पाण्डा प्रजनन अनुसन्धान केन्द्रमा रहेको सिसिटिभी को आइपान्डा च्यानलको अवलोकन गरेका थिए । त्यहाँ अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित सामग्री उत्पादन तथा डिजिटल प्रसारणबारे जानकारी दिइएको थियो ।
टोलीले छेंग्दु राष्ट्रिय सुपर कम्प्युटिङ केन्द्र, छेंग्दु विज्ञान तथा प्रविधि नवप्रवर्तन पर्यावरणीय द्वीप, तियान्फु चाङताओ डिजिटल सांस्कृतिक तथा सिर्जनात्मक पार्क र सिचुवान हार्ट फ्युचर रोबोट पार्कको अवलोकन गरेको थियो । ती भ्रमणमार्फत सुपर कम्प्युटिङ, रोबोटिक्स, एआई र डिजिटल सिर्जनात्मक उद्योगमा भइरहेको विकासबारे प्रत्यक्ष जानकारी गराइएको थियो ।
त्यस्तै, भ्रमण टोलीले सञ्चार तथा चलचित्र क्षेत्रको अभ्यास बुझ्ने क्रममा सिचुवान युनिभर्सिटी अफ मिडिया एण्ड कम्युनिकेशन, छेंग्दु फिल्म एण्ड टेलिभिजन सिटी लगायतका संस्थाको पनि अवलोकन गरेको थियो । मेटाभर्स अनुभव केन्द्र, एआईजीसी कार्यशाला, भर्चुअल उत्पादन स्टुडियो तथा मोसन–क्याप्चर प्रविधिबारे समेत सहभागीले व्यावहारिक ज्ञान लिएका थिए ।

चिनियाँ सञ्चार अभ्यासको प्रत्यक्ष अवलोकन
कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा सहभागीले सिचुवान न्युजनेट ग्रुप तथा सिचुवान टिभीको भ्रमण गरेका थिए । भ्रमणका क्रममा समाचार उत्पादन, डिजिटल सञ्चार र प्रविधिको प्रयोगबारे जानकारी लिएको भ्रमणका सहभागी लक्ष्मण गिरीले बताए । ‘नेपालका संचार संस्थाहरु खुम्चँदै जाँदा चीनले संचार संस्थाहरुलाई कसरी बलियो बनाइरहेको छ भन्ने कुराको अनुभव लिन पाइयो,’ पत्रकारिता विभागमा स्नातकोत्तर गरिरहेका गिरीले भने, ‘जुन तहको प्रविधि र विकास सहित त्यहाँका मिडियाले काम गरेका छन् तथा जुन तरिकाले अध्यापन गराइन्छ त्यो हाम्रा लागि गजबको सिकाइ बन्यो ।’
त्यसैगरी, भ्रमण टोलीले चीनको प्राचीन सभ्यता, संस्कृति तथा इतिहासबारे समेत अध्ययन गर्ने अवसर पाएका थिए । साङ्सिङदुई सङ्ग्रहालय अवलोकनले प्रविधि र आधुनिक सञ्चारसँगै चीनले संस्कृति तथा सभ्यताको संरक्षण कसरी गरिरहेको छ भनेर जानकारी लिएको सहभागीहरुले जनाएका छन् ।

चीन-नेपाल शैक्षिक सहकार्यको दोस्रो वर्ष
त्रिविको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागले यूईएसटीसीसँगको सहकार्यमा सञ्चालित यो चीन-नेपाल युवा शैक्षिक आदान-प्रदान कार्यक्रमको दोस्रो वर्ष भएको बताएको छ । गत वर्षको पहिलो चरणमा पनि केन्द्रीय विभागका स्नातकोत्तर तहका विद्यार्थी तथा दुई जना प्राध्यापक सहभागी भएका थिए ।

कार्यक्रमले एआईको तीव्र विकाससँगै परिवर्तन भइरहेको पत्रकारिता र सञ्चार क्षेत्रका नयाँ अभ्यासबारे नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउनुका साथै नेपाल र चीनका युवा, विश्वविद्यालय तथा सञ्चार क्षेत्रबीच शैक्षिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने आधारसमेत तयार गरेको विभागले जनाएको छ ।