

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले पार्टीभित्र एकताको सन्देश दिँदै १५औँ महाधिवेशनमा सबै पक्षलाई सहभागी गराउने निर्णय गरेको छ। बैठकले महाधिवेशनमा सहभागी हुन वा आयोजकका रूपमा सामेल हुन चाहने सबैलाई स्वागत गर्ने निर्णय गरेको हो। विशेषगरी देउवा पक्षबाट सहभागी हुने केन्द्रीय सदस्यहरूलाई केन्द्रीय सदस्यकै हैसियतमा स्वागत गर्दै जिम्मेवारी दिने निर्णय गरिएको छ।
त्यस्तै, कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन असोज १६ गते दिउँसो १ बजे काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा भव्य रूपमा गर्ने निर्णय बैठकले गरेको छ।
यसैगरी, बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको अधिवेशनसम्बन्धी समस्या समाधान गर्न सम्बन्धित जिल्ला सभापति तथा पदाधिकारी, केन्द्रीय निर्वाचन समिति र पार्टी नेतृत्वबीच छलफल गर्ने निर्णय भएको छ। बैठकको निर्णयलाई पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्दै एकताबद्ध रूपमा १५औँ महाधिवेशन अघि बढाउने प्रयासका रूपमा हेरिएको छ।