

काठमाडौँ । नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सोही हैसियत दिने निर्णय गरेको छ । आइतबार काठमाडौँमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनपछि केन्द्रीय समिति बाहिर रहेका सबै पूर्वकेन्द्रीय सदस्यलाई समेटेर महाधिवेशन आयोजक समितिका रूपमा काम गर्न आह्वान गरेको हो ।
प्रवक्ता देवराज चालिसेका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित तर विशेष महाधिवेशनपछि समितिमा नरहेका नेताहरूले अब केन्द्रीय सदस्यकै हैसियत पाउनेछन् । यसअघि शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्षले पनि उनीहरूलाई नयाँ समितिमा समायोजन गर्नुपर्ने माग गर्दै आएका थिए ।
बैठकले असोज १६ देखि १९ गतेसम्म हुने १५औँ महाधिवेशनलाई ‘महाउत्सव’का रूपमा मनाउने निर्णयसमेत गरेको छ । महाधिवेशनका खुला र बन्द दुवै सत्र काठमाडौँको खुलामञ्चमा सञ्चालन गरिने प्रवक्ता चालिसेले बताए ।
कांग्रेसले असोज ४ गतेभित्र देशभरका वडा अधिवेशन सम्पन्न गर्ने र गत पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई मान्यता दिने निर्णय गरेको छ । पार्टीभित्र एकता र सहकार्यका लागि संवाद जारी रहेको जनाउँदै कांग्रेसले महाधिवेशनमा सक्रियताका साथ सहभागी हुन पार्टी पङ्क्तिलाई अपिल गरेको छ ।