

काठमाडौँ । बाढीले पुल बगाएपछि अवरुद्ध रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के र तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ । फलाखु खोलाको पक्की पुल तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पुल बाढीले बगाएपछि आवागमन अवरुद्ध भएको थियो । तत्काल आवागमन सहज बनाउन बेत्रावतीमा बाँस तथा काठको फड्के र स्याफ्रुबेँसीमा फलामे तुइन निर्माण गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिए ।
बेत्रावतीको फड्के सञ्चालनमा आएपछि गेर्खु, छापटार, केराघारी हुँदै बेत्रावतीसम्म आवागमन सहज भएको छ । फड्के निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले सहयोग गरेका थिए ।
स्याफ्रुबेँसीमा तुइन निर्माण सम्पन्न भए पनि दायाँ-बायाँको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको र एक-दुई दिनमा पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ । तुइन सञ्चालनपछि उत्तरी रसुवाका विभिन्न क्षेत्रका बासिन्दालाई आवागमनमा राहत पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीयवासीले भने अस्थायी संरचनाले तत्कालको समस्या समाधान भए पनि दीर्घकालीन रूपमा बेलिब्रिज निर्माण गरी सडक तथा पुलको स्थायी पुनर्निर्माणलाई तीव्रता दिन माग गरेका छन् ।