सिक्टा सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम तीव्र

सिक्टा सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम तीव्र

राँझा (बाँके) । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्यलाई तीव्रता दिइएको छ। सरकारले पाँच वर्षभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिएपछि पछिल्लो समय निर्माण कार्य द्रुत गतिमा अघि बढेको आयोजना निर्देशक राजु आचार्यले बताए। उनका अनुसार बजेट र जनशक्तिको अभाव नभए अबको पाँच वर्षभित्र आयोजनाका सबै पूर्वाधार निर्माण सम्पन्न गर्न सकिनेछ।

हालसम्म आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ भने पूर्वाधार निर्माणमा करिब २४ अर्ब रुपैयाँ खर्च भइसकेको छ। मर्मतसम्भारको काम नियमित रूपमा सञ्चालन भइरहे पनि बाँकी निर्माण कार्य निर्धारित अवधिभित्र सक्ने गरी काम भइरहेको आचार्यले बताए।

आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–१, अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरी ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ। पश्चिम मूल नहरबाट ३३ हजार ७६६ र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य रहेकामा हाल करिब २५ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ।

नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण सुरु गरिएको आयोजनाको पहिलो गुरुयोजना विसं २०६४ मा स्वीकृत भएको थियो। उक्त गुरुयोजनाले १२ अर्ब ८० करोड रुपैयाँ लागतमा आर्थिक वर्ष २०७०/७१ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको थियो। पछि पूर्वी मूल नहरलगायत थप संरचना निर्माण गर्ने गरी आयोजना विस्तार गरिएपछि लागत र समयावधि पनि बढ्दै गएको हो।

आर्थिक वर्ष २०७१/७२ मा स्वीकृत संशोधित गुरुयोजनाले २५ अर्ब दुई करोड रुपैयाँ लागतमा आव २०७६/७७ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको थियो। उक्त लक्ष्य पनि पूरा हुन नसकेपछि विसं २०७९ मा स्वीकृत पछिल्लो गुरुयोजनाले ५२ अर्ब ८९ करोड रुपैयाँ लागतमा आव २०८९/९० सम्म सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको आयोजना सूचना अधिकारी मनोजकुमार साहले बताए।

साहका अनुसार अहिले शाखा तथा प्रशाखा नहर निर्माणको काम तीव्र रूपमा भइरहेको छ। निर्माणका लागि थप ३० वटा बोलपत्र आह्वान गरिएको छ। आयोजनाअन्तर्गत ४५ किलोमिटर पश्चिम मूल नहर निर्माण भइसकेको छ भने सिधनिया, अकलघरुवा र गुरुवागाउँ शाखा नहर सम्पन्न हुने चरणमा छन्। डुडुवा शाखा नहरको निर्माणसमेत जारी छ।

करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको डुडुवा शाखा नहरको निर्माण लामो समयदेखि अलपत्र थियो। ठेकेदार कम्पनी ‘कोस्टल पप्पु जेभी’सँगको विवाद तथा अदालतमा विचाराधीन मुद्दाका कारण रोकिएको निर्माण गत वर्ष विवाद समाधान भएपछि नयाँ ठेकेदारमार्फत अघि बढाइएको हो।

पश्चिम मूल नहरअन्तर्गत थप उपशाखा तथा प्रशाखा नहर निर्माणका लागि पनि बोलपत्र आह्वान गरिएको साहले जानकारी दिए। गत आर्थिक वर्ष २०८२/८३ मा डुडुवा सिँचाइ प्रणालीअन्तर्गत करिब ९.५ किलोमिटर, पश्चिम नहरतर्फ शाखा, उपशाखा तथा प्रशाखा गरी नौ किलोमिटर र पूर्वी नहरतर्फ ९.५ किलोमिटर नहर निर्माण गरिएको छ।

यस्तै, सिञ्चित क्षेत्र संरक्षणअन्तर्गत ७.५ किलोमिटर तटबन्ध निर्माण तथा ५.५ हेक्टर जमिन अधिग्रहण गरिएको छ। सोही आर्थिक वर्षमा आयोजनाका लागि विनियोजित एक अर्ब ५७ करोड रुपैयाँमध्ये करिब ८९ प्रतिशत वित्तीय प्रगति भएको थियो भने भौतिक प्रगति ९६ प्रतिशतभन्दा बढी रहेको साहले बताए।

आयोजनाको ५३ किलोमिटर पूर्वी मूल नहर निर्माण भने अझै अधुरो छ। पूर्वी मूल नहरअन्तर्गत बाँधदेखि वैशागाउँ हुँदै करिब ३५ किलोमिटरसम्म नहर निर्माण भए पनि नरैनापुर गाउँपालिका क्षेत्रमा निर्माण रोकिएको छ।

दुवै मूल नहरअन्तर्गत शाखा, उपशाखा र प्रशाखा नहर निर्माण पूरा नहुँदा किसानले आवश्यक समयमा बालीमा सिँचाइ सुविधा पाउन नसकेको सिक्टा आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले बताए।