चिलिमे सुरुङभित्र चिसो हावा र आवाज गएको जानकारी

चिलिमे सुरुङभित्र चिसो हावा र आवाज गएको जानकारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्रबाट बाहिर चिसो हावा आएको र भित्र आवाजसमेत गएको जानकारी प्राप्त भएको बताएका छन्।

उनका अनुसार नेपाली सेनाको उद्धार टोलीबाट प्राप्त जानकारीमा सुरुङभित्र करिब १०५ मिटर भित्रबाट बाहिरतर्फ चिसो हावा आएको र हावाको दोहोरो बहाव देखिएको छ। सुरुङभित्र आवाज पठाउँदा इको आएको जानकारीसमेत प्राप्त भएको न्यौपानेले बताएका छन्।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र कर्मचारी तथा मजदुर फसेको आशंकामा नेपाली सेना, नेपाल प्रहरी, विद्युत् प्राधिकरण तथा विदेशी विज्ञसहितको टोलीले खोज तथा उद्धार गरिरहेको छ।

विद्युत्गृहभित्र जमेको लेदो हटाउने काम जारी छ भने स्याफ्रुबेँसीदेखि चिलिमे विद्युत्गृहको पोर्टलसम्म सडक निर्माणलाई तीव्रता दिइएको छ। आवश्यक अपरेटर, मेसिन र स्पेयर पार्ट्सको व्यवस्थासमेत गरिएको छ।

सडक खुलाउन आवश्यक स्थानमा विस्फोटक पदार्थ प्रयोग गर्ने तयारी गरिएको छ। धुन्चेतर्फको विद्युत् चिलिमे विद्युत्गृहसम्म पुर्‍याउन ड्रोनमार्फत पाइलट वायर जोडिएको छ भने धुन्चेको एबीसी केबलबाट स्याफ्रुसम्म हेलिकप्टरमार्फत सामग्री ढुवानीको व्यवस्था मिलाइएको छ।

खोज तथा उद्धार टोली सुरुङ छिचोलेर विद्युत्गृहभित्र प्रवेश गर्ने प्रयासमा छ। यस अभियानमा नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङसमेत खटिएका छन्।

विद्युत्गृहसम्म पुग्न करिब २०० मिटर दूरी बाँकी रहेको जनाइएको छ। करिब ६० मिटर लामो, २५ मिटर अग्लो र २० मिटर चौडा विद्युत्गृहको माथिल्लो भागमा चामल, पानी, चिनी, चिया तथा पर्याप्त प्रकाश दिन सक्ने ठूलो ब्याट्री बैंकलगायत सामग्री रहेको बताइएको छ।

विद्युत्गृहभित्र करिब ६ जना रहेको आशंका गरिएको छ। उनीहरूको खोज तथा उद्धारका लागि नेपाली र विदेशी टोली निरन्तर खटिरहेका छन्।