सडक अवरुद्ध भएपछि भरतपुर-काठमाडौं हवाई उडान बढ्यो

सडक अवरुद्ध भएपछि भरतपुर-काठमाडौं हवाई उडान बढ्यो

भरतपुर । पृथ्वी राजमार्गको कृष्णभीरलगायतका स्थानमा सडक भासिएर यातायात अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडानमा यात्रुको चाप बढेको छ। यात्रुको संख्या बढेसँगै भरतपुरबाट काठमाडौं हुने बुद्ध एयरका उडान दोब्बरभन्दा बढी पुर्‍याइएको छ।

बुद्ध एयरको भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुर–काठमाडौं रुटमा दैनिक पाँचवटा उडान हुँदै आएका थिए। सडक अवरुद्ध भएपछि उडान संख्या बढाएर दैनिक ९ देखि ११ वटासम्म पुर्‍याइएको छ।

भरतपुर–काठमाडौं रुटमा बुद्ध एयरले एटीआर-७२ जहाज सञ्चालन गर्दै आएको छ। जहाजको क्षमता ७२ यात्रुको भए पनि भरतपुर विमानस्थलको धावनमार्ग छोटो भएकाले क्षमताअनुसार यात्रु बोक्न नसकिने कम्पनीले जनाएको छ।

यस जहाजले काठमाडौं-भरतपुर उडानमा ६५ देखि ७० जना तथा भरतपुर–काठमाडौं उडानमा करिब ५० जना यात्रु बोक्ने गरेको छ।

कृष्णभीरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौं जाने वैकल्पिक सडक प्रयोग गर्न सकिने भए पनि वर्षायाममा सडकको अवस्थालाई ध्यान दिँदै यात्रुले हवाई यातायातलाई प्राथमिकता दिन थालेका छन्।

भरतपुरबाट काठमाडौं जान चितवनसँगै नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरबाट समेत यात्रु आउने गरेका छन्। यात्रुको चापलाई ध्यानमा राख्दै उडान संख्या बढाएर हवाई यात्रामार्फत आवतजावतमा सहजीकरण गरिएको बुद्ध एयरले जनाएको छ।