

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा सभापतिको जति हक र हैसियत हुन्छ, भुइँमा बसेर काम गर्ने कार्यकर्ताको पनि त्यति नै हुने बताएका छन् । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले कांग्रेसलाई एउटै परिवारका रूपमा अघि बढाउनुपर्ने बताए । उनले पार्टीभित्र अहिले प्रतिस्पर्धा जिम्मेवारी कसले लिने भन्ने विषयमा मात्रै रहेको उल्लेख गरे ।
‘कांग्रेस एउटा परिवार हो । परिवारभित्र जिम्मेवारी कसले लिने होला भन्ने हाम्रो प्रतिस्पर्धा हो । जित्ने मान्छेले सबै कुरा जित्ने, हार्ने मान्छेले सबै कुरा हार्ने भन्ने होइन,’ उनले भने । थापाले पार्टी सभापति वा अन्य कुनै पनि पद स्थायी हैसियत नभई निश्चित समयका लागि दिइएको जिम्मेवारी मात्रै भएको बताए ।
‘यो पार्टीभित्र मेरो जति हक र हैसियत छ, त्यति नै हक र हैसियत पार्टीको भुइँमा बस्ने साथीको पनि बराबर छ,’ उनले भने, ‘पार्टीको सभापति माननीय, सम्माननीय होइन । यो केवल एउटा समय तोकेर दिएको जिम्मेवारी हो ।’
उनले पार्टीभित्र पद र जिम्मेवारीलाई व्यक्तिगत प्रतिष्ठाभन्दा संगठनप्रतिको दायित्वका रूपमा बुझ्नुपर्ने धारणा राखे ।