

काठमाडौं । मलेसियाले आगामी ५ नोभेम्बरदेखि नेपालबाट श्रमिक भर्नासम्बन्धी नयाँ व्यवस्था लागू गर्ने भएको छ । नयाँ व्यवस्थाअनुसार नेपालका २७५ वटा म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक भर्ना प्रक्रिया अघि बढाइने भएको हो ।
मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) सञ्चालन गरिरहेको बेस्टिनेट कम्पनीले ६ अक्टोबर अर्थात् असोज २० गते जारी गरेको मेमोमार्फत यस्तो जानकारी गराएको हो ।
एफडब्लुसिएमएसमा सुरुवातमा नेपालका २५ वटा म्यानपावर कम्पनी सूचीकृत गरिएका थिए । पछि ती कम्पनीको रोहबरमा थप २५० वटा कम्पनी सूचीकृत गरिएको जनाइएको छ । यससँगै एफडब्लुसिएमएसमा सूचीकृत नेपाली म्यानपावर कम्पनीको संख्या २७५ पुगेको छ ।
बेस्टिनेटले ‘नेपाल ट्रान्जिसन : बायो–मेडिकल एन्ड भिडिआर कट–अफ डेट्स’ शीर्षकमा जारी गरेको मेमोमा सूचीकृत २७५ वटा म्यानपावर कम्पनीबाट मात्रै श्रमिक भर्ती प्रक्रिया अघि बढाउने उल्लेख गरेको छ ।
मलेसियाले नेपालसँग पर्याप्त छलफल नगरी एकतर्फी रूपमा आफ्नो प्रणालीमा नेपाली म्यानपावर कम्पनी सूचीकृत गरेको भन्दै यसअघि नै विरोध हुँदै आएको छ । सीमित कम्पनीमार्फत मात्रै श्रमिक भर्ना प्रक्रिया अघि बढाएर मलेसियाले सिन्डिकेट गर्न खोजेको आरोपसमेत लाग्दै आएको छ । समस्या समाधानका लागि कूटनीतिक पहल गर्नुपर्ने आवाज उठिरहेको छ ।
बेस्टिनेटले नयाँ व्यवस्था लागू हुनुअघि हालको प्रणालीबाट भइरहेका कामदारको बायोमेडिकल दर्ता तथा मेडिकल पूरा गरी कलिङ भिसा आइसकेका श्रमिकको भिडिआर (भिसा विथ रिफ्रेन्स) प्रक्रियाका लागि विभिन्न कटअफ मिति तोकेको छ ।
मेमोअनुसार १५ अक्टोबर २०२६ हालको व्यवस्थाअन्तर्गत बायोमेडिकल दर्ताको अन्तिम मिति हो । उक्त मितिसम्म श्रमिकको बायोमेडिकल दर्ता एफडब्लुसिएमएसमा पठाई रेकर्डमा आइसकेको हुनुपर्नेछ । त्यसपछि पुरानो व्यवस्थाअन्तर्गत नयाँ बायोमेडिकल दर्ता गर्न पाइने छैन ।
यद्यपि पुरानो व्यवस्थामा बायोमेडिकल दर्ता बन्द हुँदैमा मलेसिया जाने प्रक्रियामा रहेका श्रमिकको प्रक्रिया स्वतः रद्द नहुने बेस्टिनेटले जनाएको छ ।
पुरानो व्यवस्थाअन्तर्गत प्रक्रियामा रहेका श्रमिकको रेकर्ड मिलाएर आवश्यक प्रक्रिया पूरा गर्न मेडिकल सेन्टरहरूलाई निर्देशन दिइएको छ । मेडिकल सेन्टरहरूले बायोमेट्रिक दर्ता, परिचय प्रमाणीकरण, मेडिकल परीक्षण, प्रयोगशाला रिपोर्ट, पुनः परीक्षण तथा मेडिकल रेकर्ड समीक्षा वा सच्याउनुपर्ने अवस्थाका श्रमिकको पहिचान गरी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ ।
बाँकी रहेका सबै मेडिकल परीक्षण तत्काल पूरा गरी सम्बन्धित रिपोर्ट पठाउनसमेत मेडिकल सेन्टरहरूलाई निर्देशन दिइएको छ ।
नयाँ व्यवस्था लागू हुनुअघि योग्य श्रमिकले ३१ अक्टोबर २०२६ सम्म भिडिआर आवेदनको प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था गरिएको छ । पुरानो प्रक्रियाअन्तर्गत आवश्यक प्रक्रिया पूरा गरिसकेका श्रमिकले नयाँ प्रणालीअनुसार पुनः सबै प्रक्रिया दोहोर्याउन नपर्ने बेस्टिनेटले जनाएको छ । तर, कुनै श्रमिकको पुनः मेडिकल परीक्षण गर्नुपर्ने वा थप शुल्क लाग्ने अवस्था भए त्यसका लागि आवश्यक निर्देशनसमेत जारी गरिएको मेमोमा उल्लेख छ ।
नयाँ प्रणालीमा आबद्ध हुने म्यानपावर कम्पनीको दर्ता, अकाउन्ट सक्रियता तथा प्रणालीसम्बन्धी तालिमका लागि पनि बेस्टिनेटले छुट्टाछुट्टै मिति निर्धारण गरेको जनाएको छ ।