

काठमाडौँ । नेपालमा खाना पकाउने एलपीजी ग्यासको आयात एकै दिन ४०.८ प्रतिशतले घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार भदौ २५ गतेको तुलनामा भदौ २६ गते एलपीजी ग्यासको आयात उल्लेख्य रूपमा घटेको हो।
भदौ २५ गते ३ हजार ७७.९ मेट्रिक टन एलपीजी आयात भएकोमा भदौ २६ गते घटेर १ हजार ८२२.३ मेट्रिक टनमा सीमित भएको छ। पछिल्लो दिन आयात भएको ग्यासबाट करिब १ लाख २८ हजार ३३२ सिलिन्डर बराबर आपूर्ति हुने अनुमान छ। अघिल्लो दिन करिब २ लाख १६ हजार ७५४ सिलिन्डर बराबर ग्यास भित्रिएको थियो।
नाकागत रूपमा सबैभन्दा ठूलो गिरावट वीरगञ्ज नाकामा देखिएको छ। वीरगञ्जबाट भदौ २५ गते २ हजार १२९.०१ मेट्रिक टन एलपीजी आयात भएकोमा भदौ २६ गते घटेर ७९७.१ मेट्रिक टनमा झरेको छ। यो अघिल्लो दिनको तुलनामा ६२.६ प्रतिशत कम हो।
विराटनगर नाकाबाट पनि आयात घटेको छ। भदौ २५ गते ३४५.१३ मेट्रिक टन आयात भएकोमा भदौ २६ गते ३०६.५ मेट्रिक टनमा सीमित भएको छ। मेची नाकाबाट १७.८४ मेट्रिक टन एलपीजी आयात भएको छ भने धनगढी नाकाबाट कुनै पनि मालवाहक गाडी प्रवेश नगरेकाले आयात शून्य रहेको विभागले जनाएको छ।
यता, भैरहवा र नेपालगञ्ज नाकाबाट भने एलपीजी आयातमा केही सुधार भएको छ। भैरहवाबाट भदौ २५ गते ३३८.०९ मेट्रिक टन आयात भएकोमा भदौ २६ गते बढेर ३६४.५ मेट्रिक टन पुगेको छ। त्यस्तै, नेपालगञ्ज नाकाबाट अघिल्लो दिन २४७.८३ मेट्रिक टन एलपीजी आयात भएकोमा भदौ २६ गते बढेर २८३ मेट्रिक टन पुगेको भन्सार विभागले जनाएको छ।